विराटनगर । मोरङको कटहरी गाउँपालिका–१ चौधरी चोकका ४५ वर्षीय प्रमोद महतोको विषादी सेवनपछि मृत्यु भएपछि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा तोडफोड भएको छ । घटनामा एक प्रहरी इन्स्पेक्टर घाइते भएका छन् ।
महतोले झार मार्न प्रयोग गरिने विषादी सेवन गरेका थिए। गम्भीर अवस्थामा रहेका उनलाई बिहीबार साँझ ५ः३० बजे कोशी अस्पतालमा भर्ना गरिएको थियो । कोशीमा उपचार सम्भव नभएपछि उनलाई नोबेल अस्पताल रेफर गरिएको थियो। उपचारको क्रममा राति ११ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
महतोको मृत्युपछि शुक्रबार बिहान करिब १ः३० बजे करिब ४०–५० जना आफन्त र छिमेकीहरु अस्पतालमा भेला भई तोडफोड सुरु गरेका थिए । उनीहरूले चिकित्सकको लापरबाहीका कारण महतोको मृत्यु भएको आरोप लगाउँदै आकस्मिक कक्ष अगाडि नाराबाजी गर्दै तोडफोड गरेका थिए ।
भिडले ढुंगामुढा गर्दा ओपीडी प्रवेशद्वारको माथिल्लो भागको सिसा फुटेको थियो भने अस्पतालको निर्माणाधीन भवनका ५–६ वटा झ्यालका सिसा समेत क्षतिग्रस्त भएका छन् । ढुंगामुढाबाट वडा प्रहरी कार्यालय विराटनगरका इन्स्पेक्टर राजेश दत्त घाइते भएका छन् । उनको दाहिने खुट्टाको घुँडामा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उनको उपचार नोबेल अस्पतालमै गरिएको छ ।

स्थिति नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय विराटनगरबाट डीएसपी मदन केसी र डीएसपी बुद्ध श्रेष्ठको नेतृत्वमा प्रहरी टोली परिचालित गरिएको थियो। प्रहरीले सामान्य बल प्रयोग गरी भिडलाई तितरबितर पारेको थियो ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । उनीहरूको नाम सार्वजनिक गरिएको छैन भने अन्य संलग्न व्यक्तिहरुको खोजी कार्य तीव्र पारिएको छ । घटनासम्बन्धी अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायणप्रसाद चिमरियाले जानकारी दिए ।