विराटनगर । विराटनगरमा स्ट्रोकको अत्याधुनिक उपचार पद्धतिबारे स्वास्थ्यकर्मीहरूलाई जानकारी दिइएको छ। नेपाल स्ट्रोक एशोसिएसन र नेपाल स्ट्रोक प्रोजेक्टको संयुक्त आयोजना तथा आर्या न्यूरो हस्पिटलको समन्वयमा शनिबार यो कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा विराटनगर महानगरपालिकाका तीस भन्दा बढी स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो। नेपाल स्ट्रोक एशोसिएसनका संस्थापक अध्यक्ष एवं नेशनल न्यूरो सेन्टरका वरिष्ठ न्यूरोलोजिष्ट डा‍. लेखजंग थापाले स्ट्रोकको उपचारमा प्रयोग हुने अत्याधुनिक प्रविधि र उपचार पद्धतिका विषयमा विस्तृत जानकारी प्रदान गरे।

कार्यक्रममा आर्या न्यूरो हस्पिटलका प्रबन्धक निर्देशक तथा वरिष्ठ न्यूरो सर्जन डा. पंकजराज नेपालले स्ट्रोक भएपछि तत्काल अस्पताल पुगेर उपचार गराए स्वास्थ्य लाभ हुने सम्भावना बढी हुने बताए । उनका अनुसार स्ट्रोक एक चिकित्सकीय आपतकालीन अवस्था हो, जसको समयमै उपचार अत्यन्त महत्त्वपूर्ण हुने बताए । 

नेपालले स्ट्रोकबारे समुदायमा सचेतना फैलाउनु आवश्यक रहेको बताउँदै उनले स्ट्रोकका लक्षण देखिनासाथ तुरुन्त अस्पताल पुर्याउनुपर्ने कुरामा जोड दिए। यस्ता कार्यक्रमले स्वास्थ्यकर्मीहरूलाई स्ट्रोकको पहिचान र प्रारम्भिक व्यवस्थापनबारे थप सक्षम बनाउने विश्वास व्यक्त गरिएको छ ।