खोटाङ।यहाँको हलेसी तुवाचुङ नगरपालिकाका जनप्रतिनिधिले आफ्नो तीनवर्षे कार्यकालका मुख्य उपलब्धिहरू सार्वजनिक गरेका छन्।
जनताबाट निर्वाचित भएर कार्यभार सम्हालेको तीनवर्षे कार्यकाल पूरा भएको अवसरमा नगरपालिकाद्वारा आयोजित कार्यक्रममा जनप्रतिनिधिले मुख्य उपलब्धिहरू सार्वजनिक गरेका हुन्।
उहाँका अनुसार भौतिक पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिएको नगरपालिकाले तीनवर्षको अवधिमा ९२ किलोमिटर नयाँ सडक निर्माण गरेको छ। नगरभित्रका ११ वटै वडामा निर्माण गरिएका सडकमध्ये दुई हजार ५०० मिटर ढलान तथा पाँच सय १२ किमी स्तरोन्नति गरेर बाह्रै महिना सञ्चालनमा ल्याइएको छ।
नगरभित्रका आठ वटा वडाका पक्की कार्यालय निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइएको छ। हलेसी तुवाचुङ–७ का वडाध्यक्ष समेत रहनुभएका नगर प्रवक्ता गिरीले वडा नं ५ दुर्छिममा जग्गा विवादका कारण निर्माण सुरु नभएको जनाउँदै वडा नं ९ सल्ले र वडा नं ११ राजापानीमा भवन निर्माण अन्तिम चरणमा पुगेको उल्लेख गरे।
उनका अनुसार स्वास्थ्य क्षेत्रको सुधार तथा स्तरोन्नतिअन्तर्गत पाँच श्ययाको नगर आधारभूत अस्पताल सञ्चालन, ११ वटै वडामा बर्थिङ सेन्टरसहितको स्वास्थ्य सेवा प्रवाह, नगर आधारभूत अस्पतालमा २४सैँ घण्टा सेवा, गरिब, दलित र गर्भवतीका लागि निःशुल्क एम्बुलेन्सलगायत काम गरिएको छ। सङ्घीय सरकारको अनुदानमा निर्माण सुरु गरिएको १५ श्ययाको नगर आधारभूत अस्पताललाई तीव्रता दिइएको उनले बतााए।
नगरवासीको जीविकोपार्जन कार्यक्रमअन्तर्गत कृषकलाई १०० वटा भैँसी वितरण, बाख्रा तथा सुँगुरको पाठा वितरण, सुन्तला, तरकारी, केरा र लिची पकेट क्षेत्र घोषणा गरेर प्रवर्द्धन सुरु गरिएको नगर प्रवक्ता गिरीले उल्लेख गर्नुभयो । उहाँका अनुसार ढाकाका कपडा तथा दुनाटपरी उद्योग, कृषि मार्ट सञ्चालन, रैथानेबाली प्रवर्द्धन, उद्यम गर्न चाहनेका लागि ब्याज अनुदानलगायत कार्यक्रम सञ्चालन गरिएका छन् ।
पर्यटन प्रवर्द्धनअन्तर्गत हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी, किरात समुदायको उद्गमस्थल तुवाचुङ–जायजुम, बुङालुङ पार्क (ढुङ्गे बगैँचा उद्यान), मञ्जुश्री गुफा, सल्लेपोखरी, भुम्जुडाँडालगायत २६ वटा धार्मिकस्थलको स्तरोन्नति, होमस्टे (घरबास) सञ्चालन, पर्यटक गाइड (पथ प्रदर्शक) उत्पादनलगायत काम भएका छन् ।
सामाजिक उत्तरदायित्वअन्तर्गत बालिका बचत, स्वास्थ्य बिमा, विभिन्न जातजातिका लागि १४ वटा सामुदायिक भवन निर्माणलगायत कार्यक्रम सञ्चालनमा ल्याइएको नगरले जनाएको छ ।
सुशासनका क्षेत्रमा नगरले छुट्टै नीति बनाएर अधिकांश मुद्दामा मेलमिलापको माध्यमबाट न्याय सम्पादन गर्दै आएको न्यायिक समितिका संयोजकसमेत रहनुभएका नगरउपप्रमुख रमेश राउतले जानकारी दिए।
“जघन्य किसिमका बाहेक अधिकांश मुद्दा मेलमिलापको माध्यमबाट न्याय सम्पादन गर्ने अभ्यास गरिएको छ। यसमा दुवै पक्षको जित भएको महसुस हुन्छ”, उनले भने “सुशासनको पक्षमा कसैले औँला उठाउने ठाउँ राखेका छैनौँ। पीडित र पीडक दुवै सन्तुष्ट छन् ।”
निर्वाचित भएर आएको तीनवर्षे कार्यकालमा नगरवासीको आधारभूत आवश्यकता पूरा गर्न सफल भएको नगरप्रमुख विमला राईले बताए। शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि र पर्यटन गरी पाँच विषयलाई पहिलो प्राथमिकतामा राखेर सुधारका आयोजनासहित काम गरिएको उनले जानकारी दिएका छन्।