नेपालको ऊर्जा क्षेत्रले पछिल्ला वर्षहरुमा उल्लेख्य प्रगति हासिल गरेको तथ्यहरु सार्वजनिक भइरहेका छन् । यसले नेपालको अर्थतन्त्र र नेपालको समृद्धिमा उल्लेखनीय प्रगति गर्ने देखिएको छ । कुनै समयसम्म नेपाली नागरिकहरु टुकीको भरमा बस्नुपर्ने अवस्था थियो । करिब ६५ को दशकसम्म विद्युत् क्षेत्रको अवस्था नाजुक झैं थियो । सहरी क्षेत्र पनि अन्धकार हुन्थ्यो भने ग्रामीण क्षेत्रको त कुरै भएन । तर बिस्तारै यो क्षेत्रमा निजी क्षेत्रको लगानी भित्रिन थाले पछि भने निकै नै सुधार हुँदै आएको छ । नेपाल जलस्रोतका आधारमा निकै धनी छ । कतिपयले ब्राजिल पछि नेपाललाई दोस्रो धनी मान्दै आएका छन् तर यो तथ्य हालसम्म पुष्टि हुन भने सकेको छैन ।
तर पनि ८ हजारभन्दा अग्ला हिमालहरु ८ वटा भएको साथै ६ हजारभन्दा बढी नदीनाला भएको देश भएका हिसाबमा पनि हामी जलस्रोतमा धनी छौँ भन्ने आधार पक्कै पनि छन् । नेपालमा तीन खालका नदीहरु बहने गर्दछन् । पहिलो त, हिमालबाट दोस्रो पहाडी क्षेत्र र तेस्रो चुरे क्षेत्रबाट । हिमाल र पहाडी क्षेत्रबाट बहने नदीबाट विजुली निकाल्न सक्ने क्षमता हामीसँग छ । करिब ८२ हजार मेगावाट विद्युत् निकाल्न सक्ने क्षमता रहेको तथ्याङ्क सार्वजनिक हुँदै आएका छन् । यही तथ्याङ्कलाई आधार मान्दै विद्युत् उत्पादनलाई वृद्धि गर्दै जाने हो भने नेपालले बिजुलीको क्षेत्रमा उल्लेखनीय प्रगति मात्रै हैन, यसबाट आर्थिक आम्दानी पनि गर्न सक्छ ।
हामीसँग दुई ठूला देशहरु छन् । ती देशहरु र अन्य देशहरुलाई बिजुली बेचेर नै अर्थतन्त्रलाई सबल बनाउन सक्छौँ । यी त तथ्य र तथ्याङ्कका कुरा भए । अहिले पछिल्लो समय नेपालमा झण्डै झण्डै शतप्रतिशत जनसङ्ख्याले विद्युत् पाएको अवस्था छ । हालै सार्वजनिक भएको आर्थिक सर्वेक्षण २०८२÷०८३ को तथ्याङ्कले नेपाल झण्डै शतप्रतिशत (९९.१ प्रतिशत) जनसङ्ख्यामा विद्युत् पहुँचमा रहेको देखाएको छ । लोडसेडिङको कहालीलाग्दो इतिहासबाट गुज्रिएको मुलुकका लागि यो सुखद् पक्ष हो । कुल जडित विद्युत् क्षमता ४ हजार १ सय ५ मेगावाट पुग्नु र हिउँदकै महिना (फागुन २०८२ सम्म) मा समेत भारततर्फ २ हजार ९ सय १८ गिगावाट घण्टा बिजुली निर्यात गर्न सक्ने अवस्थामा आइपुग्नु देशको आर्थिक र सामाजिक रुपान्तरणका लागि एक ठूलो फड्को हो ।
यो सफलताका पछाडि निजी क्षेत्रको सहभागिता र नीतिगत सुधार नै हो । कुल जडित क्षमतामध्ये निजी क्षेत्रका आयोजनाबाट मात्र २ हजार ५ सय ८७ मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिएको छ । नेपाल विद्युत् प्राधिकरण र यसका सहायक कम्पनीहरुको योगदान पनि उत्तिकै प्रशंसनीय छ । राष्ट्रिय प्रसारण प्रणालीमा भएको विस्तार र विविधीकरण (जलविद्युत्, सौर्य ऊर्जा र वैकल्पिक ऊर्जाको मिश्रण) ले ऊर्जा सुरक्षालाई थप मजमुत बनाएको छ । आर्थिक वर्षको अन्त्यसम्ममा थप ६ सय ६६ मेगावाट विद्युत् थपिएर क्षमता ४ हजार ६ सय २६ मेगावाट पुग्ने अनुमानले आगामी दिन झन् उज्यालो हुने सङ्केत गर्छ ।
तर यसो भनिरहँदा चुनौतीहरु प्नि बग्रेल्ती छन् । यसतर्फ सरकार र सरोकारवाला निकायको ध्यान दिन जरूरी छ । पहिलो चुनौती भनेको आन्तरिक खपत बढाउनु हो । हामीले छिमेकी देशमा बिजुली निर्यात गरेर व्यापार घाटा कम गर्ने लक्ष्य राखे पनि देशभित्रै उद्योगधन्दा, यातायात (विद्युतीय सवारी) र भान्सामा विद्युत्को खपत सोचेअनुरुप बढाउन सकेका छैनौँ । स्वदेशमै सस्तो र भरपर्दो बिजुली उपलब्ध गराएर औद्योगिक उत्पादन बढाउन सके मात्रै अर्थतन्त्र दिगो बन्न सक्छ ।
दोस्रो र सबैभन्दा पेचिलो विषय भनेको गुणस्तरीय प्रसारण र वितरण लाइनको अभाव हो । सर्वेक्षण अनुसार फागुनसम्म राष्ट्रिय प्रसारण लाइन ७ हजार २ सय ८० सर्किट किलोमिटर पुगे पनि अझै पनि वर्षायाममा उत्पादित बिजुली राष्ट्रिय ग्रिडमा जोड्न नसकेर खेर जाने अवस्था छ । अर्कोतर्फ हिउँदमा भोल्टेज ड्रप हुने, छिनछिनमा बत्ती काटिने र ट्रिपिङ हुने समस्याबाट आम उपभोक्ता र उद्योगहरु अझै मुक्त हुन सकेका छैनन् । ४००÷२३० भोल्टको वितरण लाइन एक लाख ७३ हजार सर्किट किलोमिटर नाघिसक्दा पनि ट्रान्सफर्मर र वितरण प्रणालीको स्तरोन्नति नहुँदा जनताले ’पहुँच’ पाए पनि ‘गुणस्तर’ पाउन सकेका छैनन् । यस्तै राष्ट्रिय प्रसारण लाइनभन्दा बाहिर भएका विद्युत्हरुलाई जमिनमुनिबाट लान सक्ने अवस्था सिर्जना भएको छैन । यो हुनु दुखद पक्ष हो । यसलाई परिवर्तन नगर्ने हो भने बर्खायाम वा हावाहुरीको समयमा यसैबाट ठूल्ठूला क्षति हुन सक्ने सम्भावनालाई नकार्न सकिँदैन ।
अहिले जसरी शतप्रतिशत जनसङ्ख्यामा बिजुली पुगिरहेको अवस्था छ । यसतर्फ खुसी हुनुभन्दा पनि यसलाई बढी गुणस्तरीय र सुरक्षित बनाउने ध्यान पनि दिनुपर्छ । उत्पादित ऊर्जालाई देशभित्रै उच्च क्षमताका उद्योगहरुमा खपत गराउने नीति ल्याउनुपर्छ । अन्तरदेशीय र आन्तरिक प्रसारण लाइनको निर्माणलाई युद्धस्तरमा अघि बढाउनु पर्छ । तब मात्र नेपालको ऊर्जा क्षेत्र ‘उज्यालो नेपाल’ को नारामा मात्र सीमित नभई मुलुकको आर्थिक समृद्धिको वास्तविक संवाहक बन्नेछ ।