विजयपुर । नेपाली राष्ट्रिय फुटबल खेलाडी मिलन राई सम्मानित भएका छन् ।
चौथो “हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिता २०८३” को फाइनल खेलको अवसरमा हाम्रो धरान भेट्रान फुटबल क्लबले उनलाई २१ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गर्दै सम्मान गरेको हो ।
धरानको स्थानीय फुटबल मैदानबाट खेल जीवन सुरु गरेका राई नेपाली फुटबलका स्थापित खेलाडीका रूपमा परिचित छन् । उनले स्थानीय क्लबदेखि ए डिभिजन क्लब, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदै नेपाली राष्ट्रिय टोलीसम्म आफ्नो प्रतिभा प्रदर्शन गर्दै धरानको नाम देश तथा विदेशमा चिनाउन महत्वपूर्ण योगदान पुर्याएका छन् ।
फुटबलप्रतिको उनको समर्पण, निरन्तर मेहनत र उत्कृष्ट प्रदर्शनले धरानका सयौं युवा खेलाडीलाई प्रेरित गर्दै आएको क्लबले जनाएको छ । खेल जीवनभर उनले प्रदर्शन गरेको अनुशासन, संघर्ष र सफलताले नयाँ पुस्ताका खेलाडीका लागि उदाहरणीय मार्गदर्शन प्रदान गरेको उल्लेख गरिएको छ ।
सम्मान कार्यक्रमका क्रममा क्लबका अध्यक्ष अशोक कुमार राईले सम्मानपत्र तथा नगद पुरस्कार हस्तान्तरण गरे । धरानको फुटबल विकासमा मिलन राईको योगदान अतुलनीय रहेको उनले बताए । उनले आगामी दिनमा पनि राईले नेपाली फुटबल र युवा पुस्तालाई प्रेरित गरिरहने विश्वास व्यक्त गरे ।
क्लबका सचिव उमेश जिमीले धरान नेपाली फुटबलको उर्वर भूमि रहेको उल्लेख गर्दै मिलन राईजस्ता खेलाडीले धरानको खेल इतिहासलाई समृद्ध बनाएको बताए । उनले प्रतिभाशाली खेलाडीहरूको योगदानको उचित कदर गर्दै आगामी दिनमा पनि प्रोत्साहनका कार्यक्रमलाई निरन्तरता दिइने बताए ।
सम्मान ग्रहणपछि मिलन राईले प्राप्त सम्मानले आफूलाई थप जिम्मेवार र उत्साहित बनाएको प्रतिक्रिया दिए । उनले आफ्नो खेल यात्रामा साथ र सहयोग गर्ने खेलप्रेमी, प्रशिक्षक, परिवार तथा धराने फुटबल समुदायप्रति आभार व्यक्त गर्दै युवा खेलाडीलाई मेहनत, अनुशासन र समर्पणका साथ अघि बढ्न आग्रह गरे ।