काठमाडौँ । आज विश्वका विभिन्न देशमा ‘चरन क्षेत्र: पहिचान, सम्मान र पुनःस्थापना’ नारासहित विविध चेतनामूलक कार्यक्रम आयोजना गरेर विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवस मनाइँदै छ ।


संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९४ जुन १७ लाई विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवसका रूपमा घोषणा गरेपछि सन् १९९५ देखि प्रत्येक वर्ष यो दिवस मनाउन प्रारम्भ भएको हो । मरुभूमिकरण, भूमि क्षयीकरण तथा खडेरीका चुनौतीबारे जनचेतना अभिवृद्धि गर्नुका साथै दिगो भूमि व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले यो दिवस मनाइने गरिन्छ ।


राष्ट्रसङ्घका अनुसार चरन क्षेत्र पृथ्वीको आधाभन्दा बढी भू–भागमा फैलिएका विश्वका सबैभन्दा व्यापक तर प्रायः बेवास्ता गरिएका पारिस्थितिक प्रणालीमध्ये एक हुन् । खाद्य सुरक्षा, जलचक्रको सन्तुलन, जैविक विविधता संरक्षण तथा जलवायु अनुकूलनमा चरन क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको छ । विश्वभर करिब दुई अर्ब मानिसको जीवनयापन यिनै चरन क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएको छ, जसमा पशुपालक समुदाय तथा आदिवासी समुदायहरू प्रमुख छन् ।


यो दिवसका अवसरमा विश्व समुदायले चरन क्षेत्रको आर्थिक, पारिस्थितिक तथा सांस्कृतिक महत्त्वलाई स्वीकार गर्न, तिनका परम्परागत संरक्षकहरूको सम्मान गर्न तथा क्षयीकरण भएका चरन क्षेत्रको पुनस्र्थापनामा लगानी बढाउन आह्वान गरिएको छ ।


राष्ट्रसङ्घले विश्वका झन्डै आधा चरन क्षेत्र क्षयीकरण भइसकेका जनाएको छ । यसबाट खाद्य तथा पानीको सुरक्षा, जैविक विविधता, जलवायु सहनशीलता तथा ग्रामीण जीविकोपार्जनमा गम्भीर असर पर्ने चेतावनी दिइएको छ ।


विशेषज्ञहरूले पनि दिगो भूमि तथा जल व्यवस्थापन, खडेरीपूर्व तयारी र समुदायको सहभागितामा आधारित पुनस्र्थापना कार्यक्रमलाई प्रभावकारी समाधानका रूपमा अघि बढाउनुपर्ने बताएका छन् ।


तस्बिर: संयुक्त राष्ट्रसङ्घ