विजयपुर । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप भएपश्चात स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोलीबाट एक जनाको मृत्यु भएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान सुरु गरेको छ । आयोगले सबै पक्षलाई संयमित भई सामाजिक सद्भाव कायम राख्न पनि अपिल गरेको छ ।
आयोगको कोशी प्रदेश कार्यालय, विराटनगरले घटनाको प्रारम्भिक अनुगमन सुरु गरिसकेको जनाएको छ । आयोगको टोलीले प्रमुख जिल्ला अधिकारी, सुनसरीका प्रहरी प्रमुख, अस्पताल प्रशासन तथा स्थानीयवासीसँग भेटघाट गरी घटनाबारे विस्तृत जानकारी संकलन गरिरहेको जनाएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा प्रारम्भिक अनुगमनअनुसार पोलमा झण्डा राख्ने र डिजे बजाउने विषयमा विवाद भएको थियो । विवाद बढ्दै जाँदा दुवै पक्षबीच तोडफोड र झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको जनाएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीको गोली लागेर स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको आयोगले जनाएको छ ।
आयोगका अनुसार ४ जनाको न्युरो अस्पताल, ४ जनाको विराट नर्सिङ होम र १ जनाको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
घटनापछि देवानगञ्ज र कप्तानगञ्ज क्षेत्रमा तनाव कायमै रहेको छ । स्थानीयवासी तथा आन्दोलनकारीहरूले विभिन्न स्थानमा टायर बालेर, लाठी तथा रड बोकेर प्रदर्शन गरिरहेका छन् । सुरक्षा अवस्था थप संवेदनशील बनेपछि कप्तानगञ्ज लगायतका क्षेत्रमा सेना परिचालन गरिएको छ ।
नेपाल सरकारलाई जिल्लाको शान्तिसुरक्षा अवस्था तत्काल सुदृढ बनाउन, घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन, मृतकका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था मिलाउन निर्देशन गरिएको छ ।
आयोगले राजनीतिक दल, नागरिक समाज, मानव अधिकारकर्मी तथा आम सर्वसाधारणलाई संयमता अपनाउन अनुरोध गरेको छ । हिंसात्मक गतिविधि त्यागी शान्तिपूर्ण वार्ता र संवादमार्फत विवाद समाधान गरी सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग आयोगले अपिल गरेको छ ।