भद्रपुर । बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि १ अर्ब १५ करोड ६८ लाख १३ हजार ५ सय ७६ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बुधबार आयोजित नगरसभाको दोस्रो कार्यकालअन्तर्गत नवौँ अधिवेशनको पहिलो बैठकमा उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले आय–व्यय विवरण प्रस्तुत गरेका थिए ।

नगरपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै ३६ करोड ३० लाख ५३ हजार ५ सय ७६ रुपैयाँ विनियोजन गरेको छ । प्रशासनिक खर्चका लागि २४ करोड ४० लाख रुपैयाँ छुट्याइएको छ ।

सामाजिक विकासतर्फ शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, दलित, आदिवासी जनजाति, खेलकुद तथा वडास्तरीय कार्यक्रमका लागि ९ करोड ३८ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

आर्थिक विकासअन्तर्गत कृषि, पशुपालन, उद्यम विकास, रोजगारी, सीपमूलक तालिम, पर्यटन तथा अन्य कार्यक्रमका लागि ३ करोड ८१ लाख रुपैयाँ छुट्याइएको छ । वन, वातावरण, सरसफाइ तथा विपद् व्यवस्थापनका लागि १ करोड ७० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

शिक्षा क्षेत्रमा ३ करोड १८ लाख, स्वास्थ्य कार्यक्रमका लागि १ करोड, कृषि विकासका लागि १ करोड ६ लाख र प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सीप तथा रोजगारी प्रवद्र्धनका लागि ७१ लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको छ ।

भद्रपुरको बजेट एक अर्ब
झापाको भद्रपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को लागि एक अर्ब ७ करोड ७९ लाख ५० हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

भद्रपुर नगरपालिकाको १८ औं नगरसभाले स्वीकृत गरेको नीति तथा कार्यक्रम बुधबार प्रस्तुत गर्दै उपप्रमुख राधा कार्कीले आन्तरिक स्रोत ८ करोड, राजस्व बाँडफाँडतर्फ सङ्घबाट १२ करोड ८० लाख २ हजार,  प्रदेशबाट  एक करोड १० लाख र स्थानीयबाट ४ करोड अपेक्षा राखिएको छ ।

त्यसैगरी सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानबाट १७ करोड ३५ लाख रहेको छ भने प्रदेशबाट एक करोड ६७ लाख  ४६ हजार रहेको छ । त्यस्तै सङ्घीय समपूरक अनुदानबाट ३५ लाख,  सशर्त अनुदान पुँजीगतबाट २८ लाख,  विशेष अनुदानबाट २ करोड ८४ लाख रहेको छ । त्यसैगरी सङ्घीय, सर्शत अनुदानमा ३० करोड ३ लाख, पुँजीगतमा २८ लाख र प्रदेशमा ३ करोड ४२ लाख २ हजार अपेक्षा गरिएको छ ।

चालु आर्थिक वर्ष २०८२/०८३ मा नगरपालिकाको बजेट ८० करोड ५ लाख २८ हजार रहेको थियो । आगामी आर्थिक वर्षका लागि २७ करोड ७४ लाख २२ हजार बजेट बढी ल्याएको छ ।

शिवसताक्षीको बजेट ९४ करोड  ८७ लाख ५६ हजार
शिवसताक्षी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ९४ करोड ८७ लाख ५६ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १८ औँ नगरसभामा उपप्रमुख नरमाया कार्कीले बजेट प्रस्तुत गरेकी थिइन् ।

सङ्घीय तथा प्रदेश सरकारको सशर्त कार्यक्रमतर्फ ४८ करोड ५८ लाख ५६ हजार, नगरस्तरीय योजना, विषयगत शाखा तथा वडागत योजनाका लागि २७ करोड ७० लाख रुपैयाँ र प्रशासनिक खर्चतर्फ १८ करोड ५९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

कुल बजेटमध्ये ३१.५ प्रतिशत पुँजीगत खर्च तथा ६८.५ प्रतिशत चालु खर्च रहेको छ । सामाजिक सुरक्षा तथा संरक्षण भत्ता वितरणका लागि नगरपालिकाले छुट्टै ४० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

नगरका ११ वटै वडालाई सूत्रका आधारमा ५६ लाखदेखि ७२ लाख रुपैयाँसम्म बजेट विनियोजन गरिएको छ । यसअन्तर्गत वडागत योजनाका लागि कुल ७ करोड रुपैयाँ छुट्याइएको छ ।

नगरपालिकाको बजेटले स्वास्थ्य, शिक्षा, कृषि, सामाजिक सुरक्षा, खेलकुद तथा पूर्वाधार विकासलाई केन्द्रमा राख्दै समृद्ध र व्यवस्थित नगर निर्माणको लक्ष्य लिएको नगरसभामा उल्लेख गरिएको छ ।

अर्जुनधाराको बजेट ८९ करोड ८५ लाख २५ हजार
अर्जुनधारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ८९ करोड ८५ लाख २५ हजार रुपैयाँको वार्षिक बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

नगरपालिकाको १९ औँ नियमित अधिवेशनमा बुधबार उपप्रमुख खड्गमाया पराजुलीले ‘पूर्वाधारको विकास, गरिबीको अन्त्य–समृद्ध अर्जुनधारा सबैको गन्तव्य’ भन्ने मूल नाराका साथ उक्त बजेट वक्तव्य प्रस्तुत गरिन् ।

पूर्वाधार विकासतर्फ  १० करोड ६८ लाख, वडास्तरीय कार्यक्रमका लागि ९ करोड ९० लाख, सामाजिक विकासतर्फ ५ करोड २५ लाख, वन, वातावरण तथा विपद् व्यवस्थापनमा १ करोड ४४ लाख, संस्थागत विकास तथा सुशासनमा १ करोड २९ लाख र आर्थिक विकासतर्फ १ करोड ११ लाख रुपैयाँ छुट्याइएको छ । नगरपालिकाको प्रशासनिक खर्चका लागि १७ करोड ८९ लाख रुपैयाँ विनियोजन गरिएको छ भने बाँकी रकम सङ्घीय र प्रदेश सरकारको सशर्त, विशेष र समपूरक अनुदानका कार्यक्रममा खर्च हुने बजेटमा उल्लेख छ ।

सङ्घीय सरकारको वित्तीय समानीकरण अनुदानबाट १७ करोड २५ लाख, राजस्व बाँडफाँडबाट १४ करोड ४७ लाख र सशर्त अनुदानबाट ३४ करोड ३५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । प्रदेश वित्तीय समानीकरणबापत १ करोड ६० लाख २३ हजार र राजस्व बाँडफाँडबापत १ करोड ७३ लाख ७७ हजार रुपैयाँ प्राप्त हुनेछ । नगरपालिकाले आन्तरिक कर तथा राजस्व सङ्कलनबाट ७ करोड ५० लाख, मालपोत रजिष्ट्रेशनबाट ५ करोड र जनसहभागिताबाट २ करोड ५० लाख रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेको छ । चालु आ.व.मा ९८ करोड ९९ लाखको बजेट पारित भएकोमा हालसम्म कुल ६७ प्रतिशत खर्च प्रगति भएको र असार मसान्तसम्ममा ८५ प्रतिशत पुग्ने अनुमान गरिएको जानकारी दिइन् ।