विजयपुर । गत वर्षको जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका व्यक्ति ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
सुनसरीको इटहरी ८ बस्ने २३ वर्षीय भीम विश्वास चौधरी ब्राउन सुगरसहित पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय इटहरी र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्राविधिक अनुसन्धान टोलीले उनलाई नियन्त्रणमा लिएको हो । इटहरी ४ स्थित इटहरी मेडिकल नजिकै ब्राउन सुगर कारोबार भइरहेको सूचनाका आधारमा पक्राउ गरिएको हो । चौधरीको साथबाट ०.१८ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । चौधरीले प्रयोग गरेको प्रदेश नं. १–०२–०४४ प ८१५२ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार पक्राउ परेका चौधरी यसअघि चोरी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका कैदी हुन् । उनलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखेर लागू औषध नियन्त्रण ऐन र कारागारबाट फरार भएको कसुरमा थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।