विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि हेमोफेलिया भएका व्यक्तिहरूको उपचारका लागि विनियोजित बजेटमा भारी कटौती गरेपछि बिरामी र तिनका अभिभावकहरू आन्दोलित भएका छन् ।

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल कोशी प्रदेशको अगुवाइमा सोमबार विराटनगरस्थित स्वास्थ्य मन्त्रालय परिसरमा उनीहरूले धर्ना दिएका हुन् ।विगतका वर्षहरूमा १ करोड रुपैयाँ विनियोजन हुँदै आएकोमा आगामी आर्थिक वर्षका लागि सरकारले जम्मा ३० लाख रुपैयाँ मात्र छुट्याएपछि बिरामीहरू थप जोखिममा परेका छन् ।

आन्दोलनको नेतृत्व गरिरहेका राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल कोशी प्रदेशका अध्यक्ष नवीन ढुङ्गेलका अनुसार कोशी प्रदेशमा मात्रै १ सय ५५ जना हेमोफेलिया भएका बिरामीहरू पहिचान भएका छन् । “विगतमा ९० जना बिरामी हुँदा १ करोड बजेटले पनि उपचार धान्न गाह्रो थियो, अहिले बिरामी बढेर १ सय ५५ पुग्दा बजेट घटाएर ३० लाखमा झारिएको छ” ढुङ्गेलले भने, “यो कुन तथ्य र आधारमा गरियो ? हामीले पटक–पटक मन्त्री र सचिवलाई ध्यानाकर्षण गराउँदा पनि हाम्रो मागलाई बेवास्ता गरियो ।”

हेमोफेलिया एक यस्तो गम्भीर अवस्था हो, जसमा चोट लाग्दा रगत बग्न रोकिँदैन । यसका लागि प्रयोग गरिने औषधि (फ्याक्टर) अत्यन्तै महँगो हुने ढुङ्गेल बताउँछन् ।

औषधि अभावका कारण धेरै बिरामीहरू आन्दोलनमा आउनसमेत नसकेको अवस्था छ । “हाम्रा आधाभन्दा बढी साथीहरू औषधि नपाएर ओछ्यानमै थला परेका छन्, कोही मरणासन्न अवस्थामा छन्” अध्यक्ष ढुङ्गेलले थपे, “कोही ओछ्यानबाट उठेर शौचालय जानसमेत नसक्ने अवस्थामा पुगेका छन् । उनीहरूको जीवन रक्षाका लागि हामी बाध्य भएर सडकमा आउनुपरेको हो ।”

बिरामीहरूले हेमोफेलियाका बिरामीको बजेट कटौती फिर्ता गर, बिरामीको जीवन रक्षा गर जस्ता नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेर विरोध प्रदर्शन गरेका थिए ।

महासङ्घले सरकारले माग सम्बोधन नगरेसम्म आन्दोलन नरोक्ने चेतावनी दिएको छ । सोमबारको धर्नापछि पनि सरकार गम्भीर नभए आज (मङ्गलबार) देखि रिले अनसन र त्यसपछि आमरण अनसन बस्ने उनीहरूको तयारी छ ।

अध्यक्ष ढुङ्गेलका अनुसार कोशीमा मात्र होइन, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा पनि बजेट कटौती गरिएको छ । देशभर झण्डै ५ हजार हेमोफेलियाका बिरामी हुनसक्ने अनुमान गरिए पनि हाल १ हजार मात्र पहिचान भएका छन् । औषधि प्रयोग गर्न नपाउँदा धेरैले अकालमा ज्यान गुमाइरहेको र पहिचान हुन नसकेका बिरामीको अवस्था झन् भयावह रहेको महासङ्घको ठहर छ ।

यता स्वास्थ्य मन्त्रालय कोशी प्रदेशका सचिव डा. यधुचन्द्र घिमिरले गतवर्षको औषधि बाँकी रहेकोले यस वर्ष ३० लाख बजेट राखिएको बताए । “हामी औषधिको अभाव हुन दिने छैनौँ । यदि अहिले छुट्याएको बजेटले पुगेन भने हामी रकमान्तर गरेर भए पनि औषधि खरिद गर्नेछौँ” उनले भने, “हामी हेमोफेलिया भएका बिरामीलाई समस्या हुन दिने छैनौँ ।”

navin