विराटनगर  । मोरङको कटहरी–रङ्गेली हुलाकी सडकको दुरावस्थाबाट आजित स्थानीय र सवारी चालकले सोमबार केहीबेर सडक अवरुद्ध गरेका छन् ।  वर्षौंदेखि सडक नबन्दा दैनिकजसो सवारी साधन फस्ने र सास्ती खेप्नुपर्ने समस्या समाधान नभएपछि उनीहरू विरोधमा उत्रिएका हुन् ।

आइतबार राति १० बजे मकै लोड गरी हिँडेको ना. १ क ८३९३ नम्बरको ट्रक कटहरी–२ स्थित आदर्शनगर आइपुग्दा सडकको बीचैमा रहेको ठूलो दलदलमा भासिएको थियो । चालक श्याम राउतले रातभर अनेक प्रयास गरे पनि ट्रक निकाल्न सकेनन् । सोमबार दिउँसो ३ बजिसक्दा पनि सोही ठाउँमा अर्को एउटा मालवाहक ट्रक र इँटा बोकेको ट्याक्टरसमेत फसेपछि यो खण्ड पूर्णतः अस्तव्यस्त बनेको छ ।

हुलाकी राजमार्गअन्तर्गत पर्ने यो ५ किलोमिटर खण्ड विगत ६ वर्षदेखि स्थानीयका लागि ‘सास्तीको पासो’ बनेको छ । “रातभर ट्रक कुरेर बसेँ, न जेसीबीले तानेर निस्कियो, न त अर्को ट्रकले नै तान्न सक्यो” चालक राउतले पीडा सुनाए, “कम्तीमा फसेको ठाउँमा केही भरौट (ढुङ्गा–गिट्टी) मात्र हालिदिएको भए हामीले यस्तो हविगत भोग्नुपर्ने थिएन ।” अहिले पनि सोही सडकमा अन्य दुईवटा सवारी साधन भासिएका छन्, जसलाई निकाल्ने प्रयास विफल भइरहेको छ ।

६ वर्षदेखि अलपत्र
हुलाकी सडक निर्देशनालय इटहरीका अनुसार यो खण्ड निर्माणका लागि २०७६ सालमा ७६ करोड रुपैयाँमा श्रेष्ठ कन्स्ट्रक्सनले ठेक्का पाएको थियो । तर, निर्माण कम्पनीको लापरबाहीले ६ वर्षमा जम्मा २७ प्रतिशत मात्र काम सकियो । समयमा काम नसकेपछि सरकारले २०८० पुसमा ठेकेदारलाई कालोसूचीमा राख्दै ठेक्का रद्द गरेको थियो । तर, ठेक्का रद्द भएको ६ महिना बितिसक्दा पनि नयाँ ठेक्का लाग्न सकेको छैन, जसको मार दैनिक हजारौँ यात्रु र सवारी चालकले खेपिरहेका छन् ।

हुलाकी राजमार्ग निर्देशनालय इटहरीका सूचना अधिकारी इन्जिनियर उपेन्द्र दासले अबको केही दिनमा नयाँ ठेक्का प्रक्रिया सुरु हुने बताए । “अबको केही दिनभित्रै यो सडकको नयाँ ठेक्का प्रक्रिया अगाडि बढ्दै छ” उनले भने, “यस विषयमा मन्त्रीज्यूसँग पनि कुराकानी भइसकेको छ ।”

सडकको दुरावस्थाले आजित स्थानीयले सोमबार दुई घण्टा चक्काजामसमेत गरे । “हिउँदमा धुलोले सास फेर्न गाह्रो हुन्छ, बर्खा लागेपछि सडक पोखरी बन्छ” स्थानीय मोहम्मद समसुल मियाँले भने, “मेरो मासु पसलअगाडि दैनिक ४–५ वटा गाडी फस्छन् । पैदल हिँड्न पनि सकिँदैन ।”

अर्का स्थानीय अरुण पुरीका अनुसार सडक बनाउन दबाव दिन कहिले धान रोपियो त कहिले बाटो बन्द गरियो, तर राज्यका निकायले सुनेनन् । २४ घण्टाभन्दा बढी समय गाडी फसेपछि स्थानीयले तत्काल ग्राभेल हाल्न माग गर्दै सडक ठप्प पारेका थिए । कच्ची र हिलाम्मे सडकका कारण यो खण्ड अहिले दुर्घटनाको केन्द्र बनेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार आर्थिक वर्ष २०७९÷०८० यता मात्रै यही ५ किलोमिटर खण्डमा भएका दुर्घटनामा परी १४ जनाले ज्यान गुमाइसकेका छन् ।

ठेकेदार राज्यभन्दा बलिया भएः मन्त्री पराजुली
सडकको यो दयनीय अवस्थाले जनप्रतिनिधिहरूलाई समेत जनताका माझमा लज्जित बनाएको छ । कोशी प्रदेशका वन, पर्यटन तथा वातावरण मन्त्री भीम पराजुलीले निर्माण व्यवसायीको कार्यशैलीप्रति तीव्र आक्रोश व्यक्त गरे ।

“कहिलेकाहीँ त लाग्छ, यी ठेकेदार र निर्माण व्यवसायीहरू राज्यभन्दा पनि ठूला हुन् कि क्या हो ?” कटहरीमा आयोजित एक कार्यक्रममा सोमबार उनले भने, “हामी सङ्घीय सांसद्, प्रदेश सांसद् र पालिका अध्यक्षहरू पटक–पटक अनसन बस्यौँ, तर काम अघि बढेन । सडक नबन्दा वडाध्यक्ष र स्थानीय जनप्रतिनिधिले गाली खानुपरेको छ ।”

कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले पुरानो ठेकेदारलाई कारबाही गरेर नयाँ ठेक्का प्रक्रिया अघि बढेको बताए । उनले यसअघि पनि काठमाडौँ पुगेर पूर्वाधार विकास मन्त्री र सङ्घीय सांसद्सँग कुराकानी गरेको भन्दै अब चाँडै नयाँ ठेक्का लाग्ने आश्वासन दिए ।

Kathari sada ko halat  (2)

sadak bandai gardai  (1)