धरान । १२ औँ मनमोहन स्मृति फुटबल प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न सेमिफाइनल खेलबाट प्रभात स्कुल र डिपोट स्कुल फाइनलमा प्रवेश गरेका छन्।
धरान–१४ स्थित हात्तिसार केन्द्रीय प्राविधिक क्याम्पसको खेल मैदानमा सम्पन्न पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस स्कुल र प्रभात स्कुलबीच निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टीमा प्रभात स्कुलले ३–२ को नतिजा निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।
त्यसैगरी दोस्रो सेमिफाइनल खेलमा डिपोट स्कुलले लिगामेन्ट स्कुललाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको छ। प्रतिस्पर्धात्मक खेलमा डिपोट स्कुलले गरेको एकमात्र गोल नै निर्णायक बनेको थियो।
यससँगै प्रभात स्कुल र डिपोट स्कुलबीच उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ। प्रतियोगिताको फाइनल खेल असार १२ गते दिउँसो १ बजेदेखि हात्तिसारस्थित केन्द्रीय प्राविधिक क्याम्पसको खेल मैदानमा सञ्चालन हुने आयोजक धरान सिटी फुटबल क्लबले जनाएको छ।
मनमोहन अधिकारीको स्मृतिमा आयोजना गरिएको प्रतियोगिताको विजेता टोलीलाई नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेता टोलीलाई नगद २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
-सन्देश तिम्सिना