भद्रपुर । किशोरी छोरीलाई जबरजस्ती करणी गरेर बच्चा जन्मिएपछि नवजात शिशुको हत्या गरी फरार रहेका बाबुलाई प्रहरीले पक्राउ गरेको छ ।
हत्या तथा जबरजस्ती करणीसम्बन्धी मुद्दामा फरार रहेका प्रतिवादीलाई प्रहरीले इलामबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गत वैशाख २ गते शिवसताक्षी नगरपालिकाको खाली जग्गामा नवजात शिशु गाडिएको अवस्थामा शव फेला परेको थियो । घटनाबारे अनुसन्धान गर्ने क्रममा पीडित किशोरीले आफ्नै बाबुले जबरजस्ती करणी गर्दा बच्चा जन्मिएको र बाबुको सल्लाहमा शिशुको शव गाडेको प्रारम्भिक बयान दिएकी थिइन् ।
उक्त घटनापछि इलाका प्रहरी कार्यालय झिलझिलेले नवजात शिशु कर्तव्य ज्यान तथा हाडनाता जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरी झापा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर अनुसन्धान अघि बढाएको थियो । तर प्रतिवादी फरार भएका थिए । उनी २ महिना अगाडि नै रोल्पा गएका थिए । रोल्पा प्रहरीसँग समन्वय गरी खोजतलास गरिरहेकोमा त्यहाँबाट समेत उनी भागेका थिए ।
विभिन्न ठाउँमा लुकिछिपी बस्ने क्रममा विशेष सुराकीको आधारमा इलाम सूर्योदय नगरपालिका वडा नं. १० फिक्कल बजारमा रहेको एक होटलबाट जिल्ला प्रहरी कार्यालय इलामसँग समन्वय गरी असार ३ गते उनलाई पक्राउ गरिएको हो । उनी छोरीसँग बसिरहेको अवस्थामा फेला परेका थिए ।
पक्राउ परेका प्रतिवादीलाई झापामा ल्याई अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साथै घटनासँग सम्बन्धित पीडित किशोरीलाई आफन्त नेपाल काँकडभिट्टामा राखिएको जिल्लाका डिएसपी रञ्जन अवालेले जानकारी दिए ।