सूचनाको युगसँगै सञ्चारका माध्यमहरू तीव्र गतिमा परिवर्तन भइरहेका छन् । एक समय समाचारको प्रमुख स्रोत पत्रपत्रिका, रेडियो र टेलिभिजन थिए भने आज सामाजिक सञ्जाल सूचना आदानप्रदानको महत्वपूर्ण माध्यम बनेको छ । लाखौं अनुयायी भएका सामाजिक सञ्जाल प्रयोगकर्ता (Social Network Influencer), युट्युबर, ब्लगर र कन्टेन्ट क्रिएटरहरूले पनि दैनिक रूपमा सूचना, विचार र टिप्पणी सार्वजनिक गरिरहेका छन् । यसले एउटा महत्वपूर्ण प्रश्न जन्माएको छ— के सामाजिक सञ्जाल प्रयोगकर्ता पनि पत्रकार हुन् ?

यस प्रश्नको उत्तर सरल छैन । सबै सामाजिक सञ्जाल प्रयोगकर्ता पत्रकार हुँदैनन्, तर केही व्यक्तिले पत्रकारिताका सिद्धान्त, प्रक्रिया र नैतिकता पालना गर्दै पत्रकारितासम्बन्धी कार्य गरिरहेका छन् जो  पत्रकार हुन् । केवल सूचना सार्वजनिक गर्नु मात्र पत्रकारिता होइन त्यसका लागि निश्चित व्यावसायिक जिम्मेवारी, आचारसंहिता, सत्यताप्रतिको प्रतिबद्धता र सार्वजनिक उत्तरदायित्व आवश्यक हुन्छ । सबै सामाजिक सञ्जाल प्रयोगकर्ता पत्रकार हुन् भने पत्रकारिता विषयमा तालिम लिएका र शैक्षिक डिग्री हासिल गरेका व्यक्तिहरूलाई चाहिँ के भन्ने प्रश्न स्वभाविक हुनपुग्छ । 

पत्रकार को हुन् ?

पत्रकार भनेका समाचार, सूचना र सार्वजनिक सरोकारका विषयको खोज, अनुसन्धान, तथ्य परीक्षण, सत्यापन, विश्लेषण तथा निष्पक्ष रूपमा जनतासमक्ष प्रस्तुत गर्ने व्यक्ति हुन् । पत्रकारको मुख्य उद्देश्य कुनै व्यक्ति, संस्था वा राजनीतिक विचारको प्रचार गर्नु होइन, बरु जनतालाई सत्य, सन्तुलित र प्रमाणमा आधारित सूचना उपलब्ध गराउनु हो ।

असल पत्रकारले कुनै पनि समाचार प्रकाशित वा प्रसारण गर्नुअघि सम्बन्धित पक्षसँग प्रतिक्रिया लिन्छन्, तथ्यहरूको पुष्टि गर्छन्, स्रोतको विश्वसनीयता जाँच्छन् र आफ्नो व्यक्तिगत विचारलाई समाचारमा मिसाउँदैनन् । पत्रकारिताको मूल आधार सत्य, निष्पक्षता, उत्तरदायित्व र सार्वजनिक हित हो ।

पत्रकार को होइनन् ?

सामाजिक सञ्जालमा सक्रिय सबै व्यक्ति पत्रकार हुँदैनन् । केवल धेरै अनुयायी (Followers) हुनु, भिडियो बनाउनु, लाइभ गर्नु वा समाचारजस्तो देखिने सामग्री पोष्ट गर्नुले मात्र पत्रकारको पहिचान दिँदैन ।

कुनै राजनीतिक दलको प्रचार गर्ने व्यक्ति, कुनै कम्पनीको उत्पादन बेच्ने उद्देश्यले सामग्री बनाउने व्यक्ति, अफवाह फैलाउने, अपुष्ट सूचना सार्वजनिक गर्ने, व्यक्तिगत विचारलाई समाचारको रूपमा प्रस्तुत गर्ने, प्रतिशोधयुक्त कपोलकल्पित सूचना पस्किने वा केवल मनोरञ्जनात्मक सामग्री उत्पादन गर्ने व्यक्ति पत्रकार होइनन् ।

त्यस्तै, कुनै घटनास्थलको भिडियो खिचेर सामाजिक सञ्जालमा राख्ने व्यक्ति नागरिक सूचना प्रदायक (Citizen Informant) हुन सक्छन्, तर त्यसलाई पत्रकारिता भन्न मिल्दैन, जबसम्म त्यसमा तथ्य परीक्षण, बहुपक्षीय दृष्टिकोण, सम्पादकीय प्रक्रिया (उल्टो पिरामिड, ६ क, समाचारको बनोट (News struscture) स्रोतहरूको संश्लेषण वा विश्लेषण र पत्रकारिताको उत्तरदायित्व समावेश हुँदैन ।

पत्रकारिता भनेको के हो ?

पत्रकारिता समाजका लागि सत्य, विश्वसनीय र सन्तुलित सूचना सङ्कलन, सम्पादन, विश्लेषण र प्रकाशन गर्ने जिम्मेवार प्रक्रिया हो । पत्रकारिता लोकतन्त्रको महत्वपूर्ण आधार मानिन्छ, किनकि यसले सरकार, सार्वजनिक निकाय, निजी क्षेत्र तथा समाजका सबै पक्षलाई जवाफदेही बनाउन सहयोग पुर्याउँछ ।

पत्रकारिताको उद्देश्य कसैलाई अनावश्यक रूपमा बदनाम गर्नु वा प्रशंसा गर्नु होइन,  बरु सत्यतथ्यका आधारमा नागरिकलाई सूचित निर्णय लिन सक्षम बनाउनु हो ।

पत्रकारिताको दृष्टिकोण

पत्रकारिताको दृष्टिकोण सधैँ सार्वजनिक हित केन्द्रित हुनुपर्छ । समाचार लेख्दा पत्रकारले व्यक्तिगत भावना, जातीय, धार्मिक, राजनीतिक वा आर्थिक पूर्वाग्रहबाट मुक्त भएर काम गर्नुपर्छ । पत्रकारले आफूलाई कुनै पक्षको समर्थक वा विरोधी होइन, सत्यको खोजी गर्ने जिम्मेवार पेशेवरका रूपमा प्रस्तुत गर्नुपर्छ ।

पत्रकारिताको दृष्टिकोणमा मानव अधिकार, लोकतान्त्रिक मूल्य, सामाजिक न्याय, समावेशिता, उत्तरदायित्व र पारदर्शितालाई सम्मान गरिन्छ ।

समाचार भनेको के हो ?

समाचार भनेको जनचासोको विषयसँग सम्बन्धित सत्य, नयाँ, महŒवपूर्ण, प्रभावकारी तथा प्रमाणित सूचना हो । कुनै घटना नयाँ हुनु, धेरै मानिसलाई असर गर्नु, सार्वजनिक हितसँग सम्बन्धित हुनु वा समाजमा प्रभाव पार्नु समाचार बन्ने आधार हुन् ।

समाचारमा तथ्य हुन्छ, अनुमान हुँदैन । प्रमाण हुन्छ, अफवाह हुँदैन । समाचारले सूचना दिन्छ पाठकलाई जबर्जस्ती कुनै निष्कर्षमा पु¥याउने प्रयास गर्दैन ।

समाचार के होइन ?

व्यक्तिगत विचार, टिप्पणी, प्रचार, विज्ञापन, राजनीतिक भाषण, सामाजिक सञ्जालको अपुष्ट पोष्ट, अफवाह, गालीगलौज, घृणा फैलाउने सामग्री वा प्रमाणविहीन आरोप समाचार होइनन् अर्थात् समाचारको पनि फर्मेट हुन्छ, समाचारको फर्मेट विपरीतको समाचार हुँदैन । त्यस्तै, कुनै एक पक्षको दाबीलाई अर्काे पक्षको प्रतिक्रिया नलिई प्रकाशित गर्नु पनि पूर्ण समाचार मानिँदैन ।

आज सामाजिक सञ्जालमा धेरै सामग्री ब्रेकिङ न्यूूज भनेर प्रस्तुत गरिन्छ, तर तीमध्ये धेरै तथ्य पुष्टि नभएका वा भ्रामक हुन सक्छन् । त्यसैले समाचार र सामग्री (Content) बीचको भिन्नता बुझ्नु अत्यन्त आवश्यक छ ।

पत्रकारिताको नैतिक आचारसंहिता

असल पत्रकारिताको आधार नै नैतिकता हो । पत्रकारले सत्य र प्रमाणमा आधारित सूचना मात्र सार्वजनिक गर्नुपर्छ । समाचार प्रकाशित गर्नुअघि तथ्य परीक्षण गर्नु, सम्बन्धित सबै पक्षको भनाइ समेट्नु, व्यक्तिगत गोपनीयताको सम्मान गर्नु, बालबालिका, हिंसापीडित तथा संवेदनशील समूहको पहिचान आवश्यक नभएसम्म गोप्य राख्नु पत्रकारको दायित्व हो ।

त्यस्तै, घृणा, हिंसा, जातीय वा धार्मिक द्वेष फैलाउने सामग्रीबाट टाढा रहनु, आर्थिक वा राजनीतिक प्रभावबाट स्वतन्त्र रहनु, गल्ती भए सार्वजनिक रूपमा सच्याउनु तथा स्रोतको गोपनीयताको संरक्षण गर्नु पनि पत्रकारिताका महत्वपूर्ण नैतिक मान्यता हुन् ।

समाचारमा सन्तुलन किन आवश्यक छ ?

समाचारको सबैभन्दा महत्वपूर्ण विशेषता सन्तुलन (Balance) हो । कुनै विवाद वा आरोपसम्बन्धी समाचार प्रकाशित गर्दा आरोप लगाउने पक्ष मात्र होइन, आरोपित पक्षको प्रतिक्रिया पनि समावेश गर्नुपर्छ । यदि प्रतिक्रिया तत्काल उपलब्ध नभए त्यसको प्रयास गरिएको उल्लेख गर्नुपर्छ ।

सन्तुलित समाचारले पाठकलाई आफै निष्कर्ष निकाल्ने अवसर दिन्छ । एकपक्षीय समाचारले भ्रम, अन्याय र सामाजिक अविश्वास बढाउन सक्छ । पत्रकारको भूमिका न्यायाधीश बन्ने होइन, तथ्य प्रस्तुत गर्ने मात्र हो । त्यसको मूल्याङ्कन गर्ने काम त पाठक वा श्रोता, दर्शकले गर्छन् ।

निष्कर्ष

सामाजिक सञ्जाल आज सूचना प्रवाहको शक्तिशाली माध्यम बनेको छ । प्रभावकर्ताहरूले समाजमा सकारात्मक भूमिका खेल्न सक्छन्, जनचेतना फैलाउन सक्छन् र नागरिक सहभागिता बढाउन सक्छन् । तर प्रभावकर्ता हुनु र पत्रकार हुनु एउटै कुरा होइन । पत्रकारिता एउटा जिम्मेवार, अनुशासित र नैतिक पेशा हो, जसको आधार सत्य, तथ्य परीक्षण, निष्पक्षता, सन्तुलन र सार्वजनिक उत्तरदायित्व हो ।

आजको डिजिटल युगमा सबैले सूचना उत्पादन गर्न सक्छन्, तर सबै पत्रकार हुँदैनन् । पत्रकारिता केवल सूचना प्रसारण गर्ने काम होइन, यो लोकतन्त्रको विश्वास, नागरिकको सूचना अधिकार र सत्यप्रतिको प्रतिबद्धताको जिम्मेवार अभ्यास हो । त्यसैले समाचारको मूल्य केवल छिटो हुनुमा होइन, सत्य, सन्तुलित र विश्वसनीय हुनुमा निहित छ । 

सबै सूचना समाचार हुँदैनन्, सूचना तथ्याङ्कमा आधारित छ भने त्यही सूचनालाई समाचारको फर्मेटमा पत्रकारिताको नीति,मूल्य, आदर्श अनुरूप लेखियो भने मात्र त्यो समाचार बन्छ तर सूचना मिथ्याङ्कमा आधारित छ र समाचारको फर्मेटमा लेखियो भने पनि त्यो समाचार हुन सक्दैन ।