तारा
धर्तीबाट उदाएका तारा,
धरानवासीको हृदयमा सधैँ चम्किरहने तारा ।
समयले शरीर ढाल्यो,
तर, निष्ठा, सतिसाल झै“ उभिरह्यो,
सास निभ्यो
तर, आस्था, दियो बनेर जलिरह्यो,
यस्तो तारा
भूइँबाट उदाएर इमानको चोमोलुङ्मामा चम्किरहने तारा ।
बुबा उजीरसिंह हुक्पा चोङ्बाङ र आमा फूलमाया हुक्पा चोङ्बाङका ४ छोरा र ३ छोरीमध्ये कान्छा छोरा हुन् तारा सुब्बा । तेह्रथुमको खाम्लालुङ–८ को एक किसान परिवारमा २०२३ साल माघ १८ गते उहाँको जन्म भएको हो । गाउँकै कालिका प्रा.वि.मा ३ कक्षासम्मको अध्ययनपछि उहाँ झापाको गोलधाप झर्नुभयो । गोलधापमा चारकक्षाबाट अध्ययन थाल्नुभयो, तर, २०३७ सालमा उहाँ धरान सर्नुभयो । धरानको शिक्षा निकेतन मा.वि.बाट आफ्नो अध्ययन प्रारम्भ गर्नुभयो । सोही स्कुलबाट २०४२ सालमा एसएलसीसमेत पूरा गर्नुभयो । विद्यालयको अध्ययनदेखि नै विद्यार्थी राजनीतिमा संलग्न, अधिकारको वकालत र आन्दोलनको मोर्चाको कमाण्डस“गै पूर्णकालीन राजनीतिमार्फत् धरानलाई कार्यथलोका रूपमा विकास गर्दै अन्ततः सम्पूर्ण जीवन धरान र धराने जनताको सेवामा समर्पण गर्नुभयो र जीवनको अन्तिम सास पनि धरानमै समापन गर्नुभयो ।
विद्यार्थी आन्दोलनको झिल्कोले भेटेका तारा
२०३६ सालबाट सल्किएको विद्यार्थी आन्दोलनको डढेलो देशव्यापी थियो । आन्दोलनको प्रभाव प्रत्येक शैक्षिक संस्थाहरू र विद्यार्थीहरूमा थियो । त्यो विद्यार्थी आन्दोलनको आगोको झिल्कोले तारा सुब्बाको मस्तिष्कलाई सल्काइसकेको थियो । त्यही समय शिक्षा निकेतन मा.वि.ले विद्यार्थीहरूले तिर्ने शुल्कमा अत्यधिक वृद्धि गरेको थियो । त्यही मसलालाई उजागर गर्दै शुल्क घटाउनुपर्ने माग राखेर विद्यार्थीहरू आन्दोलनमा उत्रिए । त्यो विद्यार्थी आन्दोलनको अगुवा तारा सुब्बा । त्योबेला उहाँ कक्षा ८ मा अध्ययनरत हुनुहुन्थ्यो । तर उहाँ त्यस समय अनेरास्ववियुको सदस्यता लिइसक्नुभएको थियो र अनेरास्ववियुको धरान नगर कमिटीमा सदस्य भइसक्नुभएको थियो ।
विद्यालयमा विद्यार्थीलाई भाषणमार्फत् सम्बोधन गर्ने, अनेरास्ववियुमा विद्यार्थीहरूलाई सङ्गठित गर्ने र माथिल्लो नेतृत्वसँग समन्वयमा रहेर काम गर्नुभएको थियो । तात्कालीन विद्यार्थी नेता हाल नेकपा (एमाले) केन्द्रीय सदस्य जीवन घिमिरे त्यो समय धरानमा अनेरास्ववियुको सङ्गठन निर्माणका प्रसङ्ग स्मरण गर्नुहुन्छ, “तारा सुब्बा त्यस समयका एक जोदाहा स्वभावका, इमान्दार सङ्गठक हुन्, उनी नेतृत्वले भनेका कुराहरू राम्रो सुन्नुहुन्थ्यो, चित्त बुझेको वा घत लागेको कुरा आउनासाथ वक्तालाई रोकेर विद्यार्थीहरूलाई बुझ्नुभयो भन्दै पुनः दोहो¥याएर सुन्न लाउनुहुन्थ्यो ।”
राजनीतिक यात्रा र पारिवारिक साथ
अध्ययन गर्न धरान आउनुभएका तारा सुब्बाले धरानलाई आफ्नो हृदयमा राख्नुभयो । उहाँ धरान–१७ को स्थायी बासिन्दा हुनुभयो । २०४४ सालमा इन्दु राईस“ग वैवाहिक जीवनमा बाँधिनुभयो । सुब्बा दम्पतीका एक छोरा जुगल लिम्बूको जन्म भयो । सङ्गठनको तल्लो तहबाट प्रारम्भ भएको उहाँको राजनैतिक आरोहअवरोहलाई सफल बनाउन श्रीमती इन्दुलगायत घरपरिवार र आफन्तबाट सुरुवाती समयदेखि जीवनपर्यन्त साथ र सहयोग भयो । उहाँको राजनीतिक सफलताको मुख्य शक्ति र हौसला नै परिवार बन्न पुग्यो ।
पञ्चायती कालरात्रिको सन्त्रासले पाक्दै आएका तारा सुब्बा आन्दोलन र अनुभवको भट्टीबाट खारिएस“गै २०४७ सालसम्म आइपुग्दा एमाले युवा सङ्गठन प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ नेपाल (हाल युवा सङ्घ नेपाल) को नेताका रूपमा स्थापित भइसक्नुभएको थियो ।
प्ररायु सङ्घको उहाँ धरान नगर कमिटी अध्यक्ष, सुनसरी जिल्ला संयोजक, जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य भएर काम गर्नुभयो । २०४८ सालमा नेकपा (एमाले) धरान नगर सदस्य बन्नुभयो । सचिव हु“दै तीन कार्यकाल अध्यक्षका रूपमा पार्टीलाई सफल नेतृत्व प्रदान गर्नुभयो । धरानको पार्टी राजनीतिमा उहाँलाई एउटा यस्तो बिम्बका रूपमा हेरिन्छ कि जब पार्टी सङ्कटमा पर्दा र नेतृत्वको विषय उठ्दा सबैको मुखमा तारा सुब्बाको नाम आउने गर्दछ ।
धरानका निर्विकल्प मेयर
२०५१ सालमा एमाले सरकारका बेला तारा सुब्बाले खेलकुद विकास समिति सुनसरीको सचिव बनेर काम गर्नुभयो । २०५४ सालमा भएको स्थानीय तहको निर्वाचनमा धरान–१७ बाट वडासदस्य निर्वाचित भई जिल्ला विकास समिति सुनसरीको इलाका नम्बर २ बाट जिविस सदस्य भएर जनप्रतिनिधिका कामको अनुभव सँगाल्नुभएको थियो ।
२०७४ साल असार १४ गते स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट धरान उपमहानगरका लागि एकल र निर्विकल्प मेयरको उमेदवारका रूपमा पार्टीले उहाँको नाम सिफारिस ग¥यो । माओवादी विद्रोहको निशाना र तत्कालीन राजा ज्ञानेन्द्र शाहको निरङ्कुश आक्रमणसमेत नेकपा (एमाले) माथि थियो । यस्तोबेला पार्टी धरानको प्रभावकारी नेतृत्व र जनसरोकारका विषयमा अग्रणी भूमिकाकै कारण जनतामा तारा सुब्बा स्थापित भइसक्नुभएको थियो । धरानको विकासप्रेमी नेताका रूपमा आफ्नो पहिचान बनाइसक्नुभएको थियो । प्रतिफल स्वरूप उक्त निर्वाचनमा तारा सुब्बा एमालेभित्र र बाहिर सबैले मेयरका रूपमा स्वीकार गरिसकेका थिए ।
२० वर्षपछि भएको स्थानीय तहको निर्वाचनमा प्रतिद्वन्द्वीभन्दा ४ हजार ८ सय ५५ मत, अर्थात् २० हजार ९ सय ७५ लोकप्रिय मतका साथ मेयरमा विजयी हुनुभयो । उहाँ २०७४ असार २६ गते राति १० बजेर ५० मिनेटमा धरानको मेयर घोषित हुनुभयो ।
पहिलो निर्णय सुकुम्बासीलाई घर नम्बर
धरानलाई जनसहभागिताको नमुना सहर भनेर नेपालमै चिनाउने काम एमालेका मेयरहरू ध्यानबहादुर राई र मनोज मेन्याङ्बोको पालामा भएको हो । लामो समयपछि मेयर बन्नुभएका उहाँमाथि जनताका धेरै आशा अपेक्षाहरू थिए । उहाँको पहिलो निर्णय नै धरानलाई व्यवस्थित र सफा सहर बनाउन सुकुम्बासीहरूलाई घर नम्बर दिने योजना बनाउनुभयो । तीनकुने सुन्दर बस्ती विकास आयोजनामा बसपार्क निर्माणको योजना बनाउनुभयो (२०८३ असार १३ गतेदेखि सञ्चालनमा आइसकेको छ), खानेपानीको दीर्घकालीन समाधानका लागि काम प्रारम्भ गर्नुभयो ।
धरानलाई स्मार्ट सिटी बनाउने, धरानका चारवटै प्रवेशद्वारमा सांस्कृतिक पहिचानसहितको प्रवेशद्वार बनाउने, शान्तिस्तूपा निर्माण गर्ने, सुकम्बासी नमुना बस्ती बनाउने, सुकुम्बासीहरूलाई सहुलियत दरमा ऋण उपलब्ध गराउने, केबलकार सञ्चालन गर्ने, नगर विकास लगानी बोर्ड निर्माण गर्ने उहाँले योजना बनाउनुभयो । शिक्षा, स्वास्थ्य र पर्यटनमा विशेष योजना बनाउनुभयो । मेयर सुब्बामाथि भूमिहीन सुकुम्बासी, गरिखाने श्रमजीवी र मजदुरहरूले विश्वास गरिसकेका थिए ।
मिर्गौला प्रत्यारोपण गरिएका मेयर सुब्बा जेठ अन्तिम सातादेखि नै केही अस्वस्थ हुनुहुन्थ्यो । काम थालेको एकवर्ष पूरा हुँदै थियो, धेरै कामहरू गर्नु थियो २०७५ असार ११ र १२ गते धरान नगरको तालिकाअनुसार नगरसभा डाकियो । नगरसभाले भौतिक पूर्वाधार, खानेपानी, पर्यटन, सांस्कृतिक सम्पदाहरूको संरक्षण, सकुम्बासीहरूको व्यवस्थापन र राहत, शिक्षा र स्वास्थ्य, केबलकार सञ्चालन र स्मार्टसिटीसहितको आधुनिक धरान निर्माण गर्ने उहाँका योजनाहरू पास ग¥यो । उहाँ असार १४ गते काठमाडौँ जानुभयो । त्यो बेलासम्म उहाँलाई अस्पताल लैजान निकै ढिलाइ भइसकेको थियो ।
त्यो अँध्यारो दिन
२०७४ असार २६ गते राति १० बजेर ५० मिनेटमा तारा सुब्बालाई निर्वाचन आयोगले धरानको मेयर घोषणा गरेको थियो । मेयर घोषणा भएको ठीक ३ सय ७२ दिनमा २०७५ साउन १ गते ग्राण्डी अस्पतालका चिकित्सकले मृत घोषणा गरिदिए । अर्थात् उहाँले ३ सय ७२ दिन धरानको मेयरका रूपमा धराने जनताका लागि काम गर्नुभयो । पङ्क्तिकार काठमाडौ“मै थियो । आफ्नो प्रिय मेयर अब यस दुनिया“मा नभएको खबर पाउनासाथ मेरो फेसबुकमार्फत् “धराने जनताका लागि कालो दिन” मात्रै लेखेर पोष्ट गरे“ ।
तारन्तार फोन आउन थाल्यो । खबर एकछिनमै सनसनी फैलियो । धरान शोकमा डुब्यो, सोहीदिन उहाँको पार्थिव शरीरलाई हेलिकप्टरमार्फत् धरान ल्याइयो । साउन २ गते बिहान ७ बजेदेखि साढे ९ बजेसम्म धरान–१७ निवासमा आफन्त, इष्टमित्र तथा पार्टीका नेता कार्यकर्ताहरूले श्रद्धा अर्पण गर्नुभयो । बिहान १० बजे धरान उपमहानगरपालिका प्राङ्गणमा नगरपालिकाका कर्मचारी, २० वटै वडाका जनप्रतिनिधिहरूले श्रद्धाञ्जलि अर्पण गर्नुभयो । नगरपालिकाका सुरक्षाकर्मीहरूले प्रिय मेयरलाई अन्तिम सलामी प्रदान गरे ।
बिहान ११ बजे पब्लिक हाइस्कुलको प्राङ्गणमा तत्कालीन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले राष्ट्रिय झण्डा ओढाएएर श्रद्धा अर्पण गर्नुभयो । कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री शेरधन राई, मन्त्री, सांसद्हरू, पार्टी तथा जनसङ्गठनका नेताहरू, देशभरिका पालिकाका प्रमुख उपप्रमुखलगायतका जनप्रतिनिधिहरू र हजारौँको सङ्ख्यामा सर्वसाधारणले श्रद्धाञ्जलि अर्पण गरेर धरान नगर परिक्रमा गरी हरियाली सामुदायिक वनमा अन्त्येष्टि गरिएको थियो ।
बधाई र बिदाइमा उस्तै सम्मान
२०७४ साल असार २६ गते मेयर भइसकेपछि धरानका सडक तथा चोकचोकमा जनताका लस्करले फूल, खदा, अबिरले बधाई दिएका धराने जनताले एकवर्षपछि उसैगरी फूलमाला, खदा बोकेर धरानका सडकमा लामबद्ध भई आफ्ना प्रिय नेतालाई बिदाइ गरेका थिए । हातमा फूल, खदा बोकेका ती दुवै दृश्य उस्तै थिए, फरक यति मात्रै थियो त्यो बेला फूलमाला र खदा बोकेका लस्करहरूको अनुहारमा हाँसो थियो, यो बेला फूलमाला र खदा बोक्ने लस्करका आँखामा आँशु थियो, अनुहारमा पीडा थियो ।
तारा बिलाएपछिका वर्षहरू
तारा सुब्बाले हामीलाई छाडेर गएको ८ वर्ष पूरा भएको छ । पार्टी नेताका रूपमा उहाँलाई कुशल नेताका रूपमा धरानले सम्झिन्छ । मेयरका रूपमा उहाँलाई छोटो अवधि तर आशा र भरोसा जगाउने जनप्रतिनिधिका रूपमा लिन सकिन्छ ।
वास्तवमा उहाँ चैँ कस्तो हुनुहुन्थ्यो ? मेरो दृष्टिकोणमा स्वभावका हिसाबले उहाँ व्यावहारिक अर्थात् आदर्शभन्दा व्यावहारिक समाधानमा जोड दिने र वैचारिक हिसाबले उहाँ उदारवादी नेता हुनुहुन्थ्यो अर्थात् व्यक्तिगत स्वतन्त्रता र खुल्ला विचार राख्ने नेता हुनुहुन्थ्यो । उहाँ सधैँ भन्नुहुन्थ्यो, “मलाई यस्तो लाग्छ, कमरेडलाई कस्तो लाग्छ, आफ्ना कुरा भन्नुस्, मैले भनेकै मान्नुपर्छ भन्नेपनि छैन ।” प्रभावका हिसाबले उहाँ दृढ सङ्कल्प भएको नेता हुनुहुन्थ्यो, लागेका कुरा जस्ताको त्यस्तै भन्ने, पार्टीभित्रका विचार समूहभन्दा पनि पार्टीका नीति र निर्णयलाई मान्ने साझा नेता मान्छु ।
मुख्य कुरा त पार्टी हो, यही कारण पार्टी कमिटी र संसदीय मोर्चा दुवैमा धरानमा एमाले अब्बल पार्टी थियो । २०४९ साल र २०५४ सालको स्थानीय निर्वाचनमा एमालेले एकल जित हासिल गरेपछि लिएको नीति र कार्यक्रमले नै आधुनिक धरानको जग बसालेको हो । एमालेको नेतृत्वमा नगरपालिकाले ६०/४० को जनसहभागिताको नीति लियो, जसले धरानलाई मृत सहरबाट समृद्ध सहरको बाटोमा डो¥यायो । एमालेबाट निर्वाचित मेयरहरू ध्यानबहादुर राई र मनोज मेयाङ्बोको लय र विरासतमै हिँडिरहेका तारा सुब्बालाई बाँकी कार्यभार पूरा गर्ने र एमालेको जरालाई बलियो बनाउँदै झ्याङलाई फल दिने गरी फराकिलो बनाउन समयले दिएन । तारालाई चुँडेर लगेको त्यो दशाले एमालेलाई अझै छाडेको छैन ।
धरानका सडकहरूले
अझै तिम्रो पदचाप खोजिरहेछन्,
धरानका चौतारीहरूले
अझै तिम्रो मन्द मुस्कान पहिल्याइरहेछन्,
धरानको हावाले
सुस्तरी भनिरहेछ
“असल मानिसहरू मर्दैनन्,
उनीहरू इतिहास भएर सधैँ बाँचिरहन्छन् ।”
आठौँ स्मृति दिवसमा
स्वर्गीय मेयर तारा सुब्बाप्रति भावपूर्ण श्रद्धाञ्जलि ।