भद्रपुर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय, काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२/८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ ।


यो अघिल्लो आव २०८१/८२ को तुलनामा रु एक अर्ब ७४ करोड ६० लाख ४५ हजार बढी हो । कार्यालयले राजस्व सङ्कलनमा करिब ११ प्रतिशत वृद्धि भएको जनाएको छ ।


राजस्व असुलीमा वृद्धि भए पनि कार्यालयले वार्षिक लक्ष्य भने पूरा गर्न सकेन । आव २०८२/८३ का लागि कार्यालयलाई रु १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिइएको थियो । तर कार्यालयले लक्ष्यको करिब ९३ प्रतिशत हासिल गरेको मेची भन्सार कार्यालयले जनाएको छ । यसअघि आव २०८१/८२ मा मेची भन्सार कार्यालयले रु १५ अर्ब ९३ करोड ११ लाख ६६ हजार राजस्व सङ्कलन गरेको थियो । त्यसको तुलनामा पछिल्लो आवमा राजस्व असुली उल्लेखनीय रूपमा बढेको हो ।


मेची भन्सार कार्यालय पूर्वी नेपालको प्रमुख आयात–निर्यात नाकाहरूमध्ये एक हो । यस नाका हुँदै पूर्वी नेपालमा उत्पादित चिया, अलैँची, अदुवा, अम्रिसोको कुचो, छुर्पी लगायत कृषिजन्य वस्तुहरू निर्यात हुने गरेका छन् । त्यसैगरी पेट्रोलियम पदार्थ, लत्ताकपडा, रासायनिक पदार्थ तथा विभिन्न औद्योगिक सामग्रीहरू आयात हुने गरेका छन् । रासस