धरानको विजयपुर दरबार परिसरमा किरात राई यायोक्खाले निर्माण गरेको ‘चिण्डो’ तोडफोड हुनु केवल एउटा संरचनामाथिको क्षति होइन, यो हाम्रो सामाजिक सद्भाव, सहिष्णुता र संवाद संस्कृतिमाथि पनि चुनौती हो । घटना जसले, जुन उद्देश्यले गरेको भए पनि त्यो कानून, लोकतान्त्रिक मूल्य र सामाजिक जिम्मेवारीविपरीत छ । यस्ता गतिविधिलाई कुनै पनि बहानामा स्वीकार गर्न सकिँदैन । विजयपुर दरबार क्षेत्रको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वबारे विभिन्न समुदाय र सरोकारवालाबीच फरक–फरक दृष्टिकोण रहन सक्छ । लोकतान्त्रिक समाजमा मतभिन्नता स्वभाविक हो । तर मतभिन्नताको समाधान तोडफोड, उत्तेजना वा प्रतिशोधबाट होइन, संवाद, सहमति र कानूनी प्रक्रियाबाट खोजिनुपर्छ । यही लोकतन्त्रको मूल मर्म पनि हो । पछिल्ला महिनादेखि विजयपुर क्षेत्रलाई लिएर किरात राई यायोक्खा र विजयपुर दरबार परिसर संरक्षण सङ्घर्ष समितिबीच विवाद चल्दै आएको थियो । सकारात्मक पक्ष के थियो भने दुवै पक्ष वार्ताको टेबलमा बसेका थिए । सांसद्को पहलमा छलफलसमेत सुरू भएको थियो । सहमति तत्काल हुन नसके पनि संवादको ढोका खुल्ला थियो । तर वार्ताकै क्रममा आइतबार राति भएको तोडफोडको घटनाले आपसी विश्वासमा चोट पु¥याएको छ । यसले समाधानको बाटोलाई झन् कठिन बनाउने खतरा बढाएको छ ।

यस्ता संवेदनशील विषयमा सामाजिक सञ्जालमार्फत् अपुष्ट सूचना, आरोप–प्रत्यारोप र समुदायलाई एकअर्काविरूद्ध उभ्याउने अभिव्यक्तिले आगोमा घिउ थप्ने काम मात्र गर्छ । धरान विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फूलबारी हो भन्ने कुरा विश्वलाई थाहा छ । यही विविधता यसको पहिचान र शक्ति पनि हो । त्यसैले कुनै पनि घटनालाई समुदायबीचको द्वन्द्वका रुपमा चित्रण गर्नु वा घृणा फैलाउने प्रयास गर्नु दूरगामी रुपमा घातक हुन सक्छ । यस घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्नु राज्यको पहिलो दायित्व हो । दोषी जोसुकै भए पनि कानूनी दायरामा ल्याइनुपर्छ । त्यसले मात्र अफवाहको अन्त्य गर्ने, नागरिकको विश्वास कायम गर्ने र कानूनी शासनप्रति भरोसा बढाउनेछ । अनुसन्धान तथ्यमा आधारित हुनुपर्छ, अनुमान वा दबावमा होइन । त्यत्तिकै महत्वपूर्ण दायित्व दुवै पक्षको पनि छ । वार्ता र संयमबाट मात्र दीर्घकालीन समाधान सम्भव हुन्छ भन्ने यथार्थलाई आत्मसात् गर्न आवश्यक छ । ऐतिहासिक सम्पदाको संरक्षण र आदिवासी समुदायको सांस्कृतिक पहिचान दुवै राष्ट्रिय सम्पत्ति हुन् । यी दुई विषयलाई प्रतिस्पर्धी होइन, परिपूरक दृष्टिकोणबाट हेर्ने परिपक्वता समाजले देखाउनुपर्छ । साझा समाधान खोज्ने इच्छाशक्ति नै अहिलेको आवश्यकता हो ।

धरानले विगतमा पनि अनेक सामाजिक चुनौतीहरु संवाद र सहकार्यबाट पार गरेको इतिहास छ । आज फेरि त्यही परिपक्वताको परीक्षा भएको छ । एक घटनालाई आधार बनाएर सामाजिक सम्बन्धमा दरार ल्याउने प्रयास सफल हुन दिनु हुँदैन । सबै राजनीतिक दल, सामाजिक संस्था, धार्मिक अगुवा, नागरिक समाज, सञ्चारमाध्यम र आम नागरिकले संयमित अभिव्यक्ति र जिम्मेवार व्यवहार प्रदर्शन गर्नुपर्छ । अन्ततः कुनै पनि सम्पदा ढुङ्गा वा संरचनाले मात्र होइन, त्यसलाई सम्मान गर्ने समाजले जोगाउँछ । त्यसैले आजको सबैभन्दा ठूलो आवश्यकता विजयपुरको विवाद जित्ने होइन, धरानको सामाजिक सद्भाव जोगाउने हो । संवादलाई निरन्तरता, कानूनलाई सम्मान र विविधतालाई साझा सम्पत्तिका रुपमा स्वीकार गर्न सकियो भने यही विवाद भविष्यमा समझदारी र सहअस्तित्वको उदाहरण बन्न सक्छ । आजको आवश्यकता विजयपुरको विवादलाई राजनीतिक रङ दिने होइन, न्यायपूर्ण समाधान खोज्ने हो । केही व्यक्तिहरुले राजनीतिक अभिष्ट पूरा गर्न मिलेर बसेका राई र लिम्बूहरुलाई उक्साएर द्वन्द्वको अवस्था सिर्जन गर्न खोजिएको विषयलाई पनि सबै सामाजिक सङ्घ–संस्थाहरुले विभिन्न कोणबाट अध्ययन अनुसन्धान गरी समस्यालाई न्यूनीकरण गर्दै निष्कर्षमा पुग्र्नु जरूरी छ ।