नेपालको निर्यात व्यापार वर्षौंदेखि सीमित वस्तु र सीमित बजारमा केन्द्रित रहँदै आएको छ । व्यापार घाटा निरन्तर बढिरहेका बेला विदेशी मुद्रा आर्जन गर्ने कृषिजन्य वस्तुहरु अर्थतन्त्रका लागि आशाका आधार बनेका छन् । तीमध्ये ठूलो अलै“ची नेपालको सबैभन्दा महङ्खवपूर्ण नगदे बाली र निर्यातयोग्य कृषिजन्य उत्पादन हो । आर्थिक वर्ष २०८२/०८३ मा अलैँची निर्यातमा आएको उल्लेखनीय वृद्धिले नेपालको कृषि र निर्यात क्षेत्रका लागि उत्साहजनक सन्देश दिएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/०८३ मा नेपालबाट ६३ लाख ८५ हजार ८ सय ७० किलोग्राम ठूलो अलैँची निर्यात भएको छ । यो पछिल्ला तीन आर्थिक वर्षकै सबैभन्दा उच्च निर्यात हो । यसअघि आर्थिक वर्ष २०८०/०८१ मा ५० लाख १८ हजार ३ सय ३५ किलोग्राम र २०८१/०८२ मा घटेर ४३ लाख ८ सय किलोग्राम मात्रै निर्यात भएको थियो । अर्थात्, एक वर्षमै करिब २० लाख किलोग्रामले निर्यात बढ्नु केवल सामान्य सुधार होइन, नेपाली अलैँचीप्रति अन्तर्राष्ट्रिय बजारको विश्वास पुनः मजबुत हुँदै गएको सङ्केत हो ।
आर्थिक वर्ष २०८१/०८२ मा ७ अर्ब ६८ करोड रूपैयाँमा सीमित भएको निर्यात मूल्य एक वर्षमै बढेर १२ अर्ब ६३ करोड ६९ लाख रूपैयाँ पुगेको छ । परिमाणसँगै मूल्य पनि बढ्नुले अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको प्रतिस्पर्धात्मक क्षमता र माग दुवै सुदृढ भएको देखाउँछ । यसले अलैँची खेतीमा निर्भर हजारौं किसान, व्यापारी तथा निर्यात व्यवसायीका लागि राहत र उत्साह थपेको छ । तर सबैभन्दा ठूलो चुनौती नेपालको अलैँची निर्यातको अत्यधिक निर्भरता भारतसँग छ । तथ्याङ्कले पनि आर्थिक वर्ष २०८२/०८३ मा निर्यात भएको लगभग सम्पूर्ण अलैँची भारततर्फ गएको छ । इटाली, जापान, रूसलगायत केही देशमा निर्यात भए पनि त्यसको परिमाण नगण्य छ । अघिल्ला वर्षहरुमा अष्ट्रेलिया, फ्रान्स, स्वीट्जरल्यान्ड, संयुक्त अरब इमिरेट्स तथा पाकिस्तानसम्म नेपाली अलै“ची पुगे पनि ती बजार स्थायी र प्रभावकारी बन्न सकेका छैनन् । एकल बजारमा निर्भरता कुनै पनि निर्यात अर्थतन्त्रका लागि जोखिमपूर्ण हुन्छ ।
भारतको आयात नीति, भन्सार व्यवस्था, गुणस्तर मापदण्ड वा बजार मूल्यमा हुने सामान्य परिवर्तनले पनि नेपाली किसान र व्यापारीलाई प्रत्यक्ष असर पार्न सक्छ । विगतमा यस्ता अनुभव नेपालले चिया, अदुवा, तरकारी र अन्य कृषिजन्य उत्पादनमा भोगिसकेको छ। त्यसैले अलैँचीको वर्तमान सफलता दीर्घकालीन बनाउन नयाँ बजार विस्तारलाई राष्ट्रिय प्राथमिकता बनाइनुपर्छ । अर्को महङ्खवपूर्ण प्रश्न मूल्य अभिवृद्धिको हो । नेपालले अझै पनि अधिकांश अलैँची कच्चा वा सामान्य प्रशोधन गरेर निर्यात गर्ने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा भने प्रशोधित, प्याकेजिङ गरिएको, ब्रान्डेड तथा गुणस्तर प्रमाणित मसलाले धेरै मूल्य पाउने गर्छ । यदि नेपालले आधुनिक प्रशोधन उद्योग, गुणस्तर प्रमाणीकरण, आकर्षक प्याकेजिङ र अन्तर्राष्ट्रिय ब्रान्ड निर्माणमा लगानी गर्नसके यही उत्पादनबाट अहिलेको भन्दा धेरै विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । निर्यातको सफलता केवल परिमाणमा होइन, प्रतिकिलोग्राम प्राप्त हुने मूल्यमा पनि मापन गरिनुपर्छ ।
अलै“ची उत्पादनका लागि पछिल्लो समय जलवायु परिवर्तन, रोग–कीरा, पुराना बगान, गुणस्तरीय बिरूवाको अभाव देखिएको छ । यससँगै आधुनिक खेती प्रविधिको सीमित प्रयोगले उत्पादनमा असर परिरहेको छ । पूर्वी पहाडका इलाम, ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, भोजपुर, धनकुटालगायतका जिल्लाका किसान वर्षौंदेखि यिनै समस्यासँग जुधिरहेका छन् । उत्पादन बढाउने कुरा केवल बजार खोज्ने विषय मात्र होइन; अनुसन्धान, कृषि विस्तार सेवा, सिँचाइ, प्राविधिक सहयोग र किसानमैत्री वित्तीय पहुँचसँग पनि जोडिएको विषय हो । सरकारले कृषिलाई अर्थतन्त्रको मेरूदण्ड भन्ने गरेको धेरै भयो । तर कृषिजन्य निर्यातलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बनाउने नीति र कार्यक्रम अझै पर्याप्त प्रभावकारी देखिएका छैनन् । अलैँची जस्तो विदेशी मुद्रा आर्जन गर्ने उत्पादनका लागि विशेष निर्यात रणनीति, बजार प्रवद्र्धन, अन्तर्राष्ट्रिय व्यापार प्रदर्शनीमा सहभागितालाई बढाउन जरूरी छ । किसान, सहकारी, निर्यातकर्ता र सरकारबीचको समन्वय बलियो नभएसम्म अलैँचीको सम्भावनाले पूर्णता पाउन सक्दैन ।
अब वैज्ञानिक उत्पादन, व्यावसायिक व्यवस्थापन र दूरदर्शी बजार रणनीति बनाउनेतर्फ सरकारको पहल हुन जरूरी छ । अहिलेको निर्यात वृद्धिलाई अन्तिम उपलब्धि होइन, नयाँ सुरूवातका रुपमा लिनुपर्छ । नेपालको अलैँचीले विश्व बजारमा स्थान बनाइसकेको छ; अब त्यसलाई नेतृत्वदायी स्थानमा पुर्याउने जिम्मेवारी राज्य, निजी क्षेत्र र किसान सबैको साझा दायित्व हो ।