विजयपुर । बाल दिवसको अवसरमा धरान–११ मा दन्त तथा सामान्य स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
वडा बाल सञ्जाल धरान–११ को आयोजनामा तथा धरान–११ वडा कार्यालयको संयोजनमा मंगलबार शिविर सञ्चालन गरिएको हो । ‘स्वस्थ बालबालिका, समृद्ध भविष्य’ भन्ने नारासहित आयोजित शिविरमा बालबालिकासहित विभिन्न उमेर समूहका १३५ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।
शिविरमा दन्त तथा सामान्य स्वास्थ्य परीक्षणसँगै आवश्यक परामर्श र उपचार सेवा समेत प्रदान गरिएको वडा बाल सञ्जालका अध्यक्ष रोशन शंकरले जानकारी दिए । शिविरमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मी तथा प्राविधिक टोलीले स्वास्थ्य परीक्षणमा सहयोग गरेका थिए ।
कार्यक्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. स्मृति कार्की, रेक्टर प्रा. डा. शिवेन्द्र झा, रजिस्ट्रार सहप्राध्यापक धरणीधर बराल, अस्पताल निर्देशक डा. इन्द्रकुमार लिम्बू, धरान–११ का वडाध्यक्ष लोकेन्द्र कुमार फागो लगायतको उपस्थिति रहेको थियो ।
बालबालिकाको स्वास्थ्यसँगै उनीहरूको प्रतिभा र सिर्जनशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रममा ‘बाल प्रतिभा’ पुस्तक विमोचन गरिएको थियो । सो अवसरमा विभिन्न बाल प्रतिभालाई सम्मान तथा बधाई समेत दिइएको अध्यक्ष शंकरले बताए ।

































