विजयपुर । दोस्रो धरान सिटी रनिङ कप अन्तर क्लब फुटबल प्रतियोगिता २०८३ आगामी मंसिर १२ गतेदेखि १९ गतेसम्म धरानमा हुने भएको छ ।
धरान सिटी फुटबल क्लब प्रालिको आयोजनामा हुने प्रतियोगिताका सम्पूर्ण खेल धरान–१६ स्थित धरान रंगशालामा सञ्चालन गरिने क्लबका अध्यक्ष विवेक राईले जानकारी दिए । प्रतियोगितामा आयोजकसहित धरानका आठवटा फुटबल क्लबको सहभागिता रहनेछ ।
प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी टोलीले स्थानीय खेलाडीलाई प्राथमिकता दिनुपर्ने व्यवस्था गरिएको छ । धरानका स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै स्थानीय क्लबबीच प्रतिस्पर्धात्मक वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ ।
प्रतियोगिताको विजेता टोलीले नगद १ लाख ५० हजार रुपैयाँ तथा उपविजेता टोलीले ७५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यस्तै, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई म्यान अफ द म्याच, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक लगायत विभिन्न विधामा पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ । क्लबका अनुसार प्रतियोगिता सञ्चालनका लागि करिब १८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
धरानमा फुटबल खेलको विकास गर्ने, स्थानीय खेलाडीको प्रतिभा प्रस्फुटन गराउने तथा फुटबल क्लबहरूबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
धरान सिटी फुटबल क्लब प्रालि २०७८ फागुन २० गते स्थापना भएको हो। क्लबले गत वर्ष पहिलो धरान सिटी रेड कप धरान अन्तर क्लब नकआउट फुटबल प्रतियोगिता आयोजना गरेको थियो। पहिलो संस्करण सफल भएपछि दोस्रो संस्करणका रूपमा रनिङ कप आयोजना गर्न लागिएको क्लबले जनाएको छ । क्लबले धरानमा फुटबल खेलको विकास र स्थानीय खेलाडीको क्षमता अभिवृद्धिका लागि आगामी दिनमा समेत विभिन्न खेलकुद गतिविधि तथा प्रतियोगिता सञ्चालन गर्ने जनाएको छ ।

































