गर्भवतीलाई सुपानेट झुल
इलाम/ औलो प्रभावित इलामका तीन गाविसका गर्भवतीलाई जिल्ला जनस्वास्थ्य कार्यालय इलामले सुपानेट झुल वितरण गरेको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयअन्तर्गत इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट प्राप्त भएको कीटनाशक विषादीयुक्त झुल वितरण गरिएको हो ।कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाइजर विमल बरालका अनुसार औलो प्रभावित यहाँका बाँझो, महमाई र दानाबारी गाविसका गर्भवतीलाई झुल वितरण गरिएको हो ।
गाउँको सम्बन्धित स्वास्थ्य संस्थामा कम्तीमा चार पटक गर्भ जाँच गराएपछि उक्त स्वास्थ्य संस्थाबाट झुल उपलब्ध गराइँदै आएको पनि बरालले जानकारी दिनुभयो । यो कार्यक्रमका लागि कार्यालयमा जम्मा ५८६ थान झुल आएको छ । गर्भवतीका लागि आएको झुल सम्बन्धित स्वास्थ्य संस्थामा पठाई वितरण गरिएको शाखाले जनाएको छ । औलोका रोगी नियमित १४ दिनसम्म औलो रोगको औषधि सेवन गरेमा पूरै ठीक हुने स्वास्थ्यकर्मी बताउँछन् । यो औषधि स्वास्थ्य संस्थामा निःशुल्क पाइन्छ ।
औलोबाट जिल्लामा एक जनाको पनि मृत्यु नभएको जनाउँदै कार्यालयले औलो नियन्त्रणका लागि गाउँगाउँमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताएको छ । विशेषगरी झापा जिल्लासँग सीमा जोडिएका इलामका गाविस बढी प्रभावित हुने भएकाले जिल्लाका चुरे क्षेत्रका गाविसमा बढी सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको पनि सुपरभाइजर बरालले बताउनुभयो । औलो रोग पोथी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो ।