गैरप्राविधिकले मर्मत गर्दा करेन्ट लागेर मृत्यु
गाईघाट (उदयपुर)/उदयपुर जिल्लाको कटारी नगरपालिका–८ मा बिहीबार दिउँसो स्थानीय सामुदायिक संस्थाद्वारा सञ्चालन गरिएको विद्युत्लाइनलाई गैरप्राविधिकद्वारा मर्मत गर्ने गराउने प्रयास गर्दा एकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।
विद्युत्को करेन्ट लागेर मृत्यु हुनेमा ३५ वर्षीय स्थानीय सुवास राई रहेका छन् भने घाइते हुनेमा ३४ वर्षीय रञ्जित सदा रहेको कुरा इलाका प्रहरी कार्यालय कटारीका प्रमुख दीपक बस्नेतले बताए ।
प्राविधिकको कसरी लाइन मर्मत गर्दा मृत्यु भयो भन्ने विषयमा विद्युत् प्राधिकरण कार्यालय उदयपुरसँग जानकारी माग्दा यो गल्ती कार्यालयको नभएको प्राधिकरण कार्यालयले दाबी गरेको छ ।
सामुदायिक संस्थाद्वारा सञ्चालन गरिएको विद्युत्को प्राविधिक अनुपस्थित हुँदा संस्थाका सञ्चालकले सामान्य लाइन मात्र हेर्न जान्ने राई र सदालाई लाइन हेर्न पठाउँदा करेन्ट लागेको कुरा विद्युत् प्राधिकरण कार्यालय उदयपुरका प्रमुख अवदेशकुमार दुबेले जानकारी दिए ।
दुबेले भने, “विद्युत् प्राधिकरणले कटारी–८ को लाइन स्थानीय सामुदायिक संस्थालाई हेर्ने जिम्मा दिएको हो, तर उसको प्राविधिकलाई मर्मत गर्न नपठाएर अन्य व्यक्ति मर्मत गर्न पठाउँदा विद्युत्सम्बन्धी ज्ञानको अभावमा नै करेन्ट लागेर मृत्यु भएको छ ।”
लाइन मर्मत गर्दा आफ्नो क्षेत्रको लाइन बन्द गरेर मर्मत गर्नुपर्ने भए तापनि यस्तो ज्ञान नै नभएको व्यक्तिलाई सामुदायिक संस्थाले लाइन मर्मत गर्न पठाउँदा नै घटना घटेको प्राधिकरणका कर्मचारी बताउँछन् । यस विषयमा सत्यतथ्य छानबिन गर्न विद्युत् प्राधिकरण प्रमुख दुबेसहितको टोली अहिले कटारी पुगेर घटनास्थलमा अध्ययन सुरु गरेको पनि अधिकृत दुबेले बताए।
गैरप्राविधिक व्यक्ति लाइन मर्मत गर्न गएपछि दुबैजनालाई करेन्ट लागेर घाइते भएपछि उपचारका लागि कटारी अस्पताल लगिएको थियो । राईको उपचारका क्रममा मृत्यु भएको थियो भने अर्का सदाको उपचार भइरहेको प्रहरीले बताएको छ । राईको शव अहिले कटारी अस्पतालमा नै रहेको छ भने मृतकका आफन्तले क्षतिपूर्ति माग गरिरहेको पनि प्रहरीले बताएको छ । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































