
इटहरी / नेपाल सरकार र बेलायत सरकारको सहयोगमा सामुदायिक विकास कार्यक्रम अन्तर्गत आरआरएनले सुनसरीमा बिल्डिङ इलेक्ट्रिसियन सम्बन्धी सीपमूलक तालिम सञ्चालन गरेको छ । निम्न आय भएका सिमान्तकृत वर्गका २५ जना युवालाई तालिम प्रदायक संस्था पाथिभरा हिमालयन पोलिटेक्निक इन्स्टिच्युट इटहरीको प्राविधिक सहयोगमा बुधबारदेखि निःशुल्क तालिम शुरु गरेको हो । तालिमको उद्घाटन सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी चण्डेश्वर पोखरेलले गरे । आरआरएन सुनसरी प्रमुख सरस्वती कोइराला र तालिम प्रदायक संस्थाका प्रबन्ध निर्देशक कृष्ण साहले तालिमबारे जानकारी गराएका थिए । सुनसरीका १५ वटा गाविसमा आयआर्जन, पूर्वाधार तथा सुशासनका लागि आरआर एनले काम गर्दैआएको कोइरालाले बताइन् । सुनसरीमा ड्राइभिङ, कम्प्युटर मर्मत, सिलाइकटाई लगायतका विषयमा एक सय ८७

जना बेरोजगार युवालाई दिन लागिएको उनले बताइन् ।
कार्यक्रममा तालिम प्रदायक संस्थाका प्रबन्ध निर्देशक साहले तालिमपछि रोजगारमा जाने युवालाई संस्थाले विभिन्न दाताको सहकार्यमा तालिम प्रदान गर्दैआएको बताए । संस्थाबाट १० हजार बेरोजगार युवालाई तालिम प्रदान गरेको र ८६ प्रतिशत युवा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारमा काम गरिरहेको उनले बताए ।
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख अर्जुन निरौला, व्यवसायी तथा सीप विकास तालिम केन्द्र इटहरीका प्रमुख गोविन्दकृष्ण भट्ट, पाथिभराका कार्यक्रम निर्देशक मीन साह लगायत उपस्थित थिए । तालिममा सुनसरीका दक्षिणी क्षेत्रका युवाको सहभागीता छ । उनीहरुलाई ४५ दिनसम्म निःशुल्क तालिम प्रदान गरी रोजगारीमा लगिने बताइएको छ ।