धरान । विद्यालय सुधार योजना अन्तर्गत धरान–१९ स्थित किरातेश्वर माविले आफ्ना विद्यार्थीहरुको स्वास्थ्यलाई ख्याल गर्दै दन्त शिविर सञ्चालन गरिरहेको छ ।
शिविरमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान दन्त विभागका ६ जना डाक्टर र १० जना दन्त चिकित्सा अध्यापन गर्दै गरेकाहरुबाट जाँच गरिरहेका छन् । शिविरमा कक्षा १ देखि १० सम्मका करिव २ सय ५० विद्यार्थीहरुको सहभागिता रहेको स्कुलका प्रधानाध्यापक योगेन्द्र पालुङ्वाले बताए ।
विद्यालय सुधार योजना अन्तर्गत स्कुलले वर्षको एक पटक विद्यार्थीहरुको स्वास्थ्यप्रति सचेत बनाउनको लागि स्वास्थ्य शिविरहरु आयोजना गरिने लक्ष्य राखिएको प्रअ पालुङ्वाले बताए । शिविरमा दन्त चिकित्सक डा. आशिष श्रेष्ठ, डा. ताराकान्त भगत, डा. सन्तोकुमारी अग्रवाल, डा. सिर्जना दाहाल, डा. अमरेशकुमार सिंह, डा. कृष्ण सुवेदी सहभागी छन् । बिहान साढे १० बजेदेखि शिविर सुरु भएको हो ।