धरान / रोटरी क्लब इन्टरनेसनल साउथ एशियाले दक्षिण एशियामा सञ्चालन गरेको विद्यालय सुधार कार्यक्रमअन्तर्गत नेपालका लागि धरानका चारवटा विद्यालय छानिएका छन् । रोटरी क्लब धरानको समन्वयमा पब्लिक उच्च मावि फुस्रे, दीपेन्द्र स्मृति प्रावि फोक्ल्यान्डटापु, सरस्वती प्रावि धरान–३, र गैरीगाउँ बालविकास केन्द्रमा विद्यालय सुधारका कार्यक्रमहरु सञ्चालन गरिएको रोटरी क्लब धरानका अध्यक्ष निर्मलकुमार शर्माले जानकारी दिए । दक्षिण एशियाका माल्दिभ्स र श्रीलङ्काबाहेकका देशहरुमा सन् २०१७ सम्म रोटरी क्लब इन्टरनेसनल साउद एशियाले ‘टिच’ अभियान शुरु गरेको हो । सो अभियानअन्तर्गत टिच अफ सपोर्ट, इ–लर्निङ, चाइल्ड डेभलपमेन्ट, एडल्ट लिटरेसी र ह्याप्पी स्कुल कार्यक्रम शुरु गरेको हो । यो कार्यक्रम डेढ वर्षसम्म सञ्चालन हुने बताइएको छ । सो कार्यक्रमअन्तर्गत शिक्षकलाई प्रभावकारी शिक्षणमा सहयोग पु¥याउन कक्षाकोठा व्यवस्थापन विषयमा एकदिने तालिम शुक्रबार सञ्चालन गरिएको रोटरी क्लब धरानका सचिव कृष्ण शाहले जानकारी दिए । युरेका उच्च माविले सहयोग गरेको तालिममा चारवटा विद्यालयका २० जना शिक्षक सहभागी थिए । क्लबले शिक्षण सुधार, कक्षाकोठा व्यवस्थापन, नेतृत्व विकास, पूर्वाधार तयारीलगायत, बालविकास, साक्षरतालगायत विषयमा ती विद्यालयमा प्रशिक्षण दिने र नमूना बनाउने कार्यक्रम रहेको क्लबले जनाएको छ । दक्षिण एशियामा क्लबको ‘टिच’ अभियान प्रभावकारी भएको शाहले बताए । यो अभियानअन्तर्गत नेपालका लागि धरानका विद्यालयलाई पार्न रोटरी क्लब धरानले भूमिका खेलेको उनले बताए । यसैबीच रोटरी क्लब धरानले शुक्रबार फुस्रेमा २५ जना विद्यार्थीलाई नेतृत्व विकास तालिम प्रदान गरेको छ । तालिमको प्रशिक्षण कौशिकी क्याम्पसका प्रमुख मोहन श्रेष्ठ र इटहरीको पाथिभरा टेक्निकल कलेजका प्रबन्ध निर्देशक कृष्ण शाहले दिएको क्लबका अध्यक्ष शर्माले जनाए । कार्यक्रमको संयोजन जुनियर रेडक्रस फुस्रेले गरेको थियो ।