तरहरा/ सुनसरीका अधिकाङ्श सरकारी विद्यालयको जग्गामा व्यक्तिको रजाइँ भइरहेको खुलासा भएको छ । विद्यालय व्यवस्थापनको कमजोरीका कारण अरबौं मूल्य पर्ने सरकारी जग्गा अतिक्रमणसँगै बेवारिसे अवस्थामा छन् । अधिकाङ्श सरकारी विद्यालयको जग्गामा अतिक्रमण गरी घर निर्माण हुन थालेको पाइन्छ ।
सरकारी विद्यालयको जग्गामा राजनीतिक आडमा बस्ती समेत बस्न थालेको छ । इटहरी उपमहानगरपालिकाभित्रै सरकारी विद्यालयको सयौं बिघा जग्गा भएपनि बेवारिसे अवस्थामा छन् । इटहरीको जनता मावि, राष्ट्रिय मावि, ज्योति मावि, सरस्वती मावि, महेन्द्र माविको स्वामित्वमा जग्गा भएपनि जग्गा बापत्को आयस्रोत भने शून्यजस्तै छ । महङ्गो मूल्य पर्ने सरकारी जग्गा विद्यालयहरुकै कमजोरीको कारण बेवारिसे अवस्थामा परेको सामाजिक अगुवाहरु बताउँछन् ।राष्ट्रिय उच्च मावि आँपगाछीको १० बिघाभन्दा बढी जग्गा रहेको विद्यालयका प्रधानाध्यापक शरण बस्नेतले बताए । त्यसमध्ये करीब १० कठ्ठा तरहराकै एक निजी विद्यालयले भाडामा लिएको र त्यसबाहेक अन्य जग्गा बेवारिसे रहेको स्वीकार गरे । उनले १० बिघामध्ये धानको मूल्य अनुसार तरहराबाट करीब ९० हजार रुपैयाँ बाहेक अन्य आम्दानी नभएको जनाए । सो विद्यालयले ढड्डामा बाहेकको जग्गा समेत पत्ता लगाएको छैन । तर आँपगाछी चौकमै रहेको भएपनि विद्यार्थीहरुको लागि खेल्ने ठाउँ समेत छैन ।
जग्गा अतिक्रमण हुन थालेको विद्यालयले जनाएको छ ।इटहरीकै महेन्द्र माविको नाममा अहिले आठ बिघा जग्गा छ । त्यसबापत् अहिले वर्षको ३० हजार रुपैयाँ मात्रै आम्दानी भइरहेको छ । यसैगरी इटहरीमै रहेको सरस्वती माविको नाममा २२ बिघा ८ कठ्ठा ५ धुर जग्गा छ, तर त्यसबापत् विद्यालयले एक रुपैयाँ पनि आम्दानी गर्न सकेको छैन । इटहरीमै रहेको जनता उच्च माविको नाममा समेत १४ बिघाको धनीपूर्जा छ । तर जनता उच्च माविले समेत जग्गाको आयस्रोत उपभोग गर्न सकेको छैन । जनता उच्च माविको नाममा रहेको जग्गामा ठूलठूला भवन बनेका छन् । जनता माविका लेखापाल राजकुमार श्रेष्ठले विद्यालयको जग्गा अतिक्रमण भइरहेको बताए । विद्यालय व्यवस्थापन समिति नहँुदा जग्गाको व्यवस्थापन हुन नसकेको उनको भनाइ थियो ।नेपाल सामुदायिक विद्यालय व्यवस्थापन समिति सङ्घका अध्यक्ष मणिराम गिरीले राजनीतिकै कारण सरकारी जग्गा बेवारिसे अवस्थामा रहेको बताए । व्यक्तिहरुले जग्गा अतिक्रमण गरिरहेको आरोप लगाउँदै उनले सरकारी विद्यालय प्रशासन चुस्त दुरुस्त हुनु नसक्नुले पनि विद्यालयहरुले आप्mनो जग्गा संरक्षण गर्न नसकेको बताए ।
‘अधिकाङ्श सरकारी स्कुल गरीब देखिए पनि जग्गा जमिनहरु प्र्रशस्त छन्, त्यसको सदुपयोग हुन सकेन’, उनले थपे । सार्वजनिक सम्पत्तिहरुको संरक्षण हुन नसकेको कारण सरकारी विद्यालयको जग्गाहरु बेवारिसे अवस्थामा रहेको उनको भनाइ थियो ।सरकारी विद्यालयहरुको जग्गा सुनसरीमा प्रशस्त रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । कार्यालयलाई समेत विद्यालयहरुले जग्गाको तथ्याङ्क नदिने गरेको जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीले बताए । ‘धरानका धेरै विद्यालयको जग्गा बेवारिसे छन् भन्ने सुनेको छु’, उनले भने, ‘म केही दिनभित्रै सुनसरीका सबै विद्यालयको जग्गाको तथ्याङ्क निकाल्छु’, उनले भने । यसभन्दा अघि विद्यालयको जग्गा नभएको कारण समस्या भएको उनको भनाइ थियो ।