‘लियोनल मेसी खेलमा सधै खतरा मोल्ने’
- आश्विन २०, २०७३
- ब्लाष्ट खबर
धरान । बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनल मेसी कम्मर चोटका कारण लामो रेष्टमा छन् । उनको अनुपस्थितिमा अहिले बार्सिलोनाले पनि सहज जित निकाल्न सकिरहेको छैन् ।
बार्सिलोनाले पछिल्लो खेलसमेत हारेको छ । मेसीले आफूले खतरा मोलेर पनि टिमलाई जिताउनको लागि कुनै कसर नछाड्ने दाबी फुटबल अधिकारीहरुले गरेका छन् ।
अर्जेन्टिना फुटबल टोलीका सचिव जर्ज मिआदोस्क्वीले मैदानमा मेसीले राम्रो खेल प्रदर्शन गर्ने होडमा खतरा मोलिरहने बताएका छन् । उनी खेलमा कसरी राम्रो गर्ने भन्ने विषयमा मात्रै सोचिरहने गरेका छन् ।
जसका कारणसमेत उनी चोटमुक्त नहुने गरेको ती अधिकारीले बताए । २९ वर्षीय मेसी पाँच पटक फिफा बेलुन डि ओरका विजेता हुन् । गत सेप्टेम्बर २१ बाट कम्मर चोटका कारण चार साता मैदान बाहिर रहने बताइएको छ ।
उनले यो बीचमा विश्वकप छनौट अन्तर्गत पेरु र पराग्वे विरुद्धको खेल समेत गुमाउने छन् । अहिले उनको उपचारको लागि पहल भइरहेको छ । चाडै मैदानमा आउन सक्ने संकेत देखिदै छ । तर, पनि खेल्न सक्ने हुन् होइनन् त्यो भने भावी दिनले देखाउने छ ।