उदयपुर / एक महिलाको हत्याको विषयलाई लिएर १८ घण्टादेखि मृतकका आफन्तजनले इलाका प्रहरी कार्यालय बेलटारलाई घेराउ गरेका छन् । लामो समयसम्म तवान भए पछि भएको सर्वपक्षीय वार्तापछि स्थिति सामान्य बन्दै गएको प्रहरीले जनाएको छ । उदयपुरको बेलटार–बसाहा नगरपालिका २ सिरुवानीकी २७ वर्षीया भिमकुमारी कटुवालको तीनदिनअघि भएको हत्याको विषयलाई लिएर मृतकका आफन्तजनले बुधबार रातिदेखि इलाका प्रहरी कार्यालय घेराउ गर्दै आएकोमा सर्वपक्षीय वार्तापछि तनाव साम्य हुन सफल भएको हो । इप्रका बेलटारका प्रहरी प्रमुख भीमकान्त सिलवालका अनुसार मृतकका माइतीपक्षबाट आएका पाँचसयभन्दा बढीको आक्रोसित भिडले इलाका प्रहरी कार्यालय घेराउ गरी ढुंगामुढा र हुलहुज्जत गरेपछि स्थितिलाई नियन्त्रण गर्न प्रहरीले डेडदर्जन सेल अश्रुग्याँस प्रहार गर्नुका साथै आधा दर्जन पटक हवाई फायर गर्नुपरेको थियो।
इप्रका बेल्टारका प्रहरी निरीक्षक भिम सिलवालका अनुसार राति हवाई फायरपछि केही शान्त भएको स्थिति बिहीबार विहान पुनः चर्केपछि सामान्य बल प्रयोग गर्नु परेको उनल ेबताए । प्रहरी, स्थानीय राजनीतिक दल, नागरिक समाज र पीडित पक्षबीच लतागारको वार्ता र छलफलपछि भने स्थिति सामान्य बन्न पुगेको छ। सर्वपक्षीय सहमतिपछि मृतकको शव आफन्तको जिम्मा दिई प्रहरी सुरक्षासहित सदगदको तयारी गरिएको सिलवालले बताए। प्रहरीका नातामा देवर पर्ने सुबासले भाउजु भिमकुमारीलाई कतै जानु छ भन्दै बोलाएर घरबाट हिडाएर मोरङको बेलबार ६ स्थित बेतना सिमसारमा लगेर तीनदिनअघि धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए। भाउजुको हत्यालगत्तै विष सेवन गरी सिकिस्त बनेका सुबासको प्रहरी निगरानीमा बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ। प्रहरी हवल्दार रहेका मृतकका श्रीमान् राजेन्द्र कटुवाल र परिवारका अन्य ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको एसपी केसीले बताएका छन्। महिलाको हत्यामा श्रीमान् र परिवारका अन्य सदस्यकोसमेत हात रहेको आरोप मृतकका माईतीपक्षले लगाएकाले स्थिति असहज बन्न पुगेको प्रहरी ठहर छ। राजेन्द्रलगायत परिवारका सबै सदस्यलाई सुरक्षा दिएको भन्दै स्थानीयले प्रहरी कार्यालयमाथि आक्रमणको प्रयास गरेको माईतीपक्षको दावी छ। श्रीमान् राजेन्द्र समेत हत्यामा संलग्न रहेको माईती पक्षको आरोप छ । राजेन्द्र स्वयम् पनि प्रहरी सेवामा कार्यरत रहेको र यसअघि नै उसले कान्छी श्रीमतीसमेत विवाह गरेर लुकाएर राखेका कारण भीमकुमारीको हत्या गरेको माइती पक्षको आरोप रहेको पनि प्रहरीले बताएको छ । यसअघि नै राजेन्द्रको परिवारका सबै ६ जना र राजेन्द्रसहितलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेको पनि इलाका प्रहरी कार्यालय बेल्टारले बताएको छ ।