धरान/प्रा.डा. गोविन्द केसीको अनसनको २० औं दिनको पूर्वसन्ध्यामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरुले डा. केसीको माग पूरा गर्नु पर्ने माग गर्दै बिहीबार प्रदर्शन गरेका छन् ।
प्रतिष्ठान हाताबाट सुरु भएको र्याली धरानको भानुचौकमा आइपुगेर टुंगिएको थियो । डा. केसी आन्दोलन ऐक्यवद्धता समूह र पूर्वाञ्चल इन्जिनियर कलेजका विद्यार्थीहरुले संयुक्त रुपमा डा. केसीको जीवनरक्षाको माग गर्दै प्रदर्शन गरेका हुन् । डा. केसीको यो १० औं अनसन हो । यतिलामो अनसन हालसम्म नेपालमा कोही व्यक्तिले पनि गरेका छैनन् ।
समूहले हरेक दिन प्रतिष्ठानका जिओपिडी अघि र बुद्धचौकमा ‘सेभ डा. केसी’ अंकित दीपप्रज्वलन गर्दै आएका छन् । डा. केसीले आफ्नो लागि मात्रै नभई तीनकरोड नेपालीको माग रहेको कोणसभाका वक्ताहरुले बताएका थिए ।
कोणसभालाई विभिन्न डाक्टर तथा विद्यार्थीहरुले सम्बोधन गरेका थिए । डा. केसीको जीवन रक्षा गर्न सरकारले तत्कालै मागहरु सम्बोधन गर्नु पर्ने उनीहरुको माग थियो । उनीहरुले डा. केसीको जीवन रक्षाको लागि फेसबुकमा जनचेतना कार्यक्रमसमेत सुरु गरिसकेका छन् ।
त्यसलाई थप बढाउनको लागि सबैले फेसबुकमा जनचेतना फैलाउन आग्रह गरिएको समूहका सदस्य नविन भट्टले बताए ।