पथरी/ मोरङको बयरवन–३ स्थित हरकपुरका स्थानीयले एम्बुलेन्स खरिद गर्न श्रीमद्भागवत धन–धान्याञ्चल सप्ताह महायज्ञ शुरु गरेका छन् । श्रीसूर्यविनायक शिव मन्दिर व्यवस्थापन समितिको मुख्य आयोजनामा बुधबार महायज्ञ शुरु भएको हो । आगामी बुधबार समाप्त हुने महापुराणमा दैनिक युवा पण्डित माधवप्रसाद अधिकारीबाट कथावाचन र पण्डित मातृकाप्रसाद भट्टराईबाट मूल पाठ वाचन हुने गरेको पुराण मूल आयोजक समितिका प्रचारप्रसार विभाग प्रमुख नारायणप्रसाद काप्लेले बताए ।
बिहान ८ देखि १० बजेसम्म पाठपारायण र बिहान ११ देखि ५ बजेसम्म र बेलुका ८ देखि ११ बजेसम्म कथावाचन हुने गरेको छ । महापुराण शुरु भएदेखि शुक्रबारसम्ममा ४ लाखको हाराहारीमा भेटि सङ्कलन भएको मूल आयोजक समितिका तथा सूर्यविनायक शिव मन्दिर व्यवस्थापन समितिका सचिव श्रीप्रसाद मिश्रले बताए । महापुराणबाट १८ लाख सङ्कलन गर्ने र ६ लाख खर्च हुने समितिले जनाएको छ । सङ्कलित रकमले शिव मन्दिर मर्मत र एम्बुलेन्स किन्ने जनाइएको छ ।
महापुराणअघि प्रचारप्रसार समिति, अन्त तथा तुलादान समिति, स्वम्सेवक समिति, स्वागत समिति, महापुराण मूल समिति, लेखा समिति र पुराण व्यवस्थापन समिति गठन गरिएको थियो ।त्यस क्षेत्रमा एम्बुलेन्स नभएको कारण गत कात्तिक ११ गते स्थानीय ६५ वर्षीय शिवराज गिरीको मृत्यु भएको थियो । घरछेउ रुखमा घाँस काट्ने क्रममा उनी रुखबाट लडेका थिए । हरकपुरबाट लगभग ८ किलोमिटरको दुरीमा रहेका एम्बुलेन्सहरु बोलाउँदा अन्य ठाउँमा गएको जानकारी पाएपछि दुई घण्टामा मात्र भेनमा विराटनगरको नोबेल हस्पिटल लगिएको थियो ।
नोबेलमा उपचार सम्भव नभएपछि धरानस्थित बीपी प्रतिष्ठानमा उपचारको क्रममा सोही दिन मुत्यु भएको स्थानीय शैलेन्द्र थोक्लनले बताए ।कार्यक्रमका प्रमुख अतिथि क्षेत्र नम्बर २ का सभासद् चण्डिप्रसाद राई, विशेष अतिथि स्थानीय समाजसेवी देवकुमारी भट्टराई र प्रधानमन्त्रीका सचिवालय सदस्य दलबहादुर जिसीले महापुराणको उद्घाटन गरेका थिए ।