धरान/टेष्टी टेष्टी मिस एसईई चौथो संस्करणको अन्तिम तयारी पूरा भएको छ । आयोजक धरान जेसिजले बुधबार पत्रकार सम्मेलन गर्दै तयारी पूरा भएको जनाएको हो । बैसाख १५ गते समागृहमा ग्राण्ड फिनाले गरिएको छ । अडिसनबाट छनौट भएका ३३ जना सहभागीहरुलाई उद्घोषण कला, भाषण कला, सुपरमेमोरी पावर, र्यामवर्क, कविता वाचन, मिडिया इन्ट्राक्सनलगायत तालिम प्रदान गरिएको क्रिएटिभ डाइरेक्टर मोहन श्रेष्ठले बताए । ग्राण्ड फिनालेमा निर्णायक मिस नेपाल, चिकित्सक, शिक्षाविद्, साहित्यकार, उद्योगी रहने उनले बताए । मिस एसईईमा धनकुटा, तेह्रथुम, सुनसरी र मोरङका सहभागीहरु रहेका छन् । उनीहरुलाई चैत्र २५ गतेबाट विभिन्न तालिम दिन थालिएको हो । विजेताले नगद ३५ हजार रुपैयासहित धरान उच्च मावि प्लस टुमा सतप्रतिशत छात्रवृति, मोबाइल सेट प्रदान गरिने छ । त्यस्तै फष्ट रनरअपले नगद ३० हजार रुपैयासहित धरान उच्चमा ५० प्रतिशत छुटमा अध्ययनको अवसर र सेकेण्ड रनरअपले नगद २५ हजार रुपैयासहित धरान उच्चमा २५ प्रतिशत छुटमा अध्ययन गर्ने अवसर प्राप्त गर्ने अध्यक्ष सन्दीप शाक्यले बताए । त्यस्तै उनीहरुलाई विभिन्न टाइटलहरु पनि प्रदान गरिने भएको छ ।