सन् २०१४ मा पश्चिम अफ्रिकामा इबोला डरलाग्दो गरी फैलिएको बेला मलाई यो प्रश्न कैयौं पटक सोधियो । सरुवा रोग विशेषण भएका नाताले मसँग सीएनएन, एनपीआर र फक्स न्युजले इबोला भाइरसले निम्त्याउन सक्ने जोखिमबारे अन्तर्वार्ता लिए । सबैलाई मैले दिने जवाफ एउटै थियो, ‘इबोला प्राणघातक छ, डरलाग्दो पनि छ । तर, यो जताततै फैलिँदैन। यो रोगले अमेरिका अथवा अन्य औद्योगिक राष्ट्रमा फैलिने अनुकूल वातावरण पाउँदैन।’

इबोलाका कारण म त्यति चिन्तित थिइनँ । सरुवा रोगलाई सामान्य मान्ने मेरो स्वभावका कारण म चिन्तित नभएको चाहिँ होइन । एचआईभी, मलेरिया, टीबीजस्ता रोगले संसारभरि गरिरहेको विनाशबारे म जानकार छु । संसारलाई चकित तुल्याउने गरी फ्लू महामारीले सन् २००९ मा मच्चाएको वितण्डाबारे पनि मलाई थाहा छ । खोपविरोधी अभियानका कारण बिफर एकाएक फैलिएको र आधुनिक चिकित्साविज्ञानको समग्र संरचनालाई धुलिसात पार्ने गरी एन्टिबायोटिकसँग पनि जुध्ने ब्याक्टेरियाको विकास भइरहेको अहिलेको अवस्थाले इबोलाले जस्तै कैयौँ मानिसको जीवनलाई जोखिममा पारिरखेको अवस्थाबारे पनि राम्रोसँग जानकार छु।

जब मानिसहरू संक्रमण हुने रोगबाट उत्पन्न हुने जोखिमबारे मलाई सोधिरहेका हुन्छन्, त्यतिबेला उनीहरू कुनै रोगले केही मानिसको जीवनलाई जोखिममा पारेको अवस्थासँग नभई यसले सामग्र मानव जीवनलाई नै जोखिममा पार्ने सम्भावनाबाट डराएका हुन्छन् भन्ने मलाई थाहा हुन्छ । अखबारमा हेडलाइन बन्ने गरी सरुवा रोगको महामारी फैलिएको समाचार प्रकाशित हुँदा हरेक पटक मानव जीवन सोत्तर हुन सक्ने भय सर्वत्र फैलिने गर्छ । संसारका अधिकांश मानिस रोगबाट संक्रमित हुने र यसले गर्दा सृष्टिबाट मानव जीवन नै हराउने जोखिमबारे धेरैले आआफ्नै पारामा चर्चा गर्ने पनि गर्छन् । तर, समग्र मानव जीवनको अन्त्य हुने कल्पनाबाट म डराएको छैन । यस्तो कल्पनामा निहित सचेत आशयबारे भने जानकार छु।

मानव इतिहासमा सरुवा रोगले पटकपटक समग्र मानव जीवनमाथि नै जोखिम उत्पन्न गराएको छ । ती रोगले ठूलो संख्यामा मानिसको प्राण हरेका छन् । छैटौँ शताब्दीमा पूर्वी रोमन साम्राज्यमा फैलिएको प्लेगको महामारीले समग्र संसारकै करिब १७ प्रतिशत मानिसलाई सोत्तर बनाएको अनुमान छ । चौधौँ शताब्दीमा युरोपमा फैलिएको प्लेगले युरोपको जनसंख्या एक तिहाइले घटाइदिएको थियो । सन् १९१८ मा फैलिएको फ्लू महामारीले विश्वभरिको जनसंख्यामा पाँच प्रतिशतले कमी ल्याइदिएको थियो । मलेरियाले अहिलेसम्म जन्मिएकामध्ये करिब आधा मानिसको मृत्यु गराएको अनुमान चिकित्साक्षेत्रमा गरिएको छ।

र, यति हुँदाहुँदै पनि मानव सभ्यता निरन्तर फैलिरहेको छ । केही समययता मानिसहरूको औसत आयुमा उल्लेख्य सुधार भएको छ । सरसफाइ, खोप र सुक्ष्मजीवनिवारक थेरापीका कारण सरुवा रोग नियन्त्रण गर्ने दिशामा हासिल गरेको सफलताको उपज हो, यो । विभिन्न सरुवा रोगमाथि औद्योगिक युगमा नियन्त्रण कायम गर्ने काम भएको थियो । त्यसपछिको आधुनिक संसारमा मात्रै मानिसहरूलाई क्यान्सर, मुटुसम्बन्धी रोग अथवा हृदयाघातबाट जीवनको ८० औँ वसन्त पार गरेपछि मृत्यु हुने सुविधा प्राप्त भयो । होइन भने त्यसअघि सरुवा रोगका कारण बुढ्यौली लाग्न नपाई मानिसको जीवन समाप्त भइसक्थ्यो।

त्यसो भए सरुवा रोगले समग्र मानव जीवनलाई सोत्तर बनाउन अबका दिनमा सक्ला त ?

धर्मको प्रभाव परेको माइकल क्रिचटनको किताब ‘द एन्ड्रोमेडा स्ट्रेन’ मा जनाइएअनुसार हामी बाँचेको ग्रहबाहिरका सूक्ष्म जीवले मानव जीवनलाई लोप गराउन सक्छन् । यस्ता हानिकारक जीवको प्रतिरोध गर्ने गरी तेज दिमाग भएका मानव समुदायका उत्कृष्ट सदस्य योग्य बन्छन् भन्ने उनको धारणा छ । तर, कथा, उपन्यासमा बाहेक पृथ्वीबाहिरका जीवाणुले मानिसविरुद्ध निकट भविष्यमा युद्ध छेड्ने कुनै सम्भावना छैन । र, पृथ्वीमा उपलब्ध सूक्ष्म जीवले पनि मानव सभ्यतालाई लोप गराउन सक्ने सम्भावना छैन भन्ने मेरो विश्लेषण छ।

संसारबाट मानव जीवनलाई समग्रमै अन्त्य गराउने खालको जीवाणुमा दुईवटा गुण हुन आवश्यक छ । पहिलो, यो जीवाणु यति नौलो हुनुपर्छ कि अहिले अभ्यास भएका कुनै पनि थेरापी अथवा खोपले त्यसलाई छुन नसकोस् । दोस्रो, कुनै लक्षण देखिनुअगावै यो रोग तीव्र गतिमा फैलिने खालको हुनुपर्छ।

चिनिएको अथवा बुझिएको जीवाणुका कारण सरुवा रोग फैलिएका खण्डमा यसलाई नियन्त्रण गर्ने विभिन्न उपाय हामीसँग छन् । चिकित्साविज्ञानका अनुसार कुनै पनि जीवाणु फैलिएमा त्यसलाई नियन्त्रण र निस्तेज गर्ने क्षमता भएका अन्य जीवाणु रोग फैलाउने जीवाणुकै परिवारअन्तर्गत हुन्छन् । मानव जीवनलाई सोत्तर बनाउन अहिलेसम्म कतै नदेखिएको नौलो जीवाणुको उदय हुन आवश्यक छ । तर, यसको सम्भावना असाध्यै कम छ।

मानव जीवनमाथि जोखिम उत्पन्न गराउने खालका तीनवटा सरुवा रोग अहिले हामीबीच छन् । ती हुन्– इनफ्लुएन्जा, एचआईभी र इबोला । तर, यी तीनवटै रोगले माथि चर्चा गरेका दुईवटा शर्त पूरा गर्दैनन्।

उदाहरणका लागि इन्फ्लुएन्जालाई लिऊँ । निकै अघिदेखि मानव जीवनमाथि जोखिम उत्पन्न गराउँदै आएको इन्फ्लुएन्जा हाम्रा लागि ‘चिनेजानेको अपरिचित’जस्तो छ । नयाँ फ्लू किन र कसरी उत्पन्न हुन्छ भन्नेबारे अझै थुप्रै रहस्य सुल्झन बाँकी नै छन् । तर, पनि चिकित्साक्षेत्रले खोप र एन्टिब्याक्टेरियल पद्धतिको विकास गरेर इन्फ्लुएन्जासँग लड्न आफूलाई सुसज्जित बनाइसकेको छ।

एचआईभीले केही दशकयता संसारभरिमा ३ करोड ९० लाख मानिसको ज्यान लिइसकेको छ । तर, पनि विभिन्न कारणले गर्दा यो फैलिन नपाई सीमित रहन पुगेको छ । इबोलाजस्तै एचआईभी संक्रमण हुन मानिसहरूबीच रगत अथवा शरीरभित्रको झोल पदार्थ आदानप्रदान हुनुपर्छ । रोग लागिहालेको खण्डमा पनि संक्रमित व्यक्तिलाई सामान्य रूपमा जीवनयापन गराउन योग्य बनाउने विभिन्न खाले एन्टिभाइरल थेरापीको विकास भएको छ । सेक्सका क्रममा कन्डम प्रयोग गर्ने, लागुऔषध दुव्र्यसनीले एउटै सुई प्रयोग नगर्नेजस्ता अति सामान्य विधि प्रयोग गरियो भने यस्ता रोगको संक्रमण र फैलावटलाई सजिलै रोक्न सकिन्छ।

झट्ट हेर्नासाथ पहिचान हुने खालका लक्षण भएका मानिसबाट इबोला अन्य मानिसमा सर्न सक्छ । रोग लागेको लक्षण पहिचान हुने भएकाले जानाजान कोही इबोलाको शिकार हुन तम्सिँदैन । केही वर्षअघि इबोला लागेमा मर्ने सम्भावना ९० प्रतिशत रहन्थ्यो । सामान्य उपचार र हेरचारबाटै मर्ने सम्भावना घट्न पुगेको छ ।

यी तीनबाहेक अन्य सरुवा रोग पनि यहाँ छन् । तर, तिनले मानव जीवनलाई सोत्तर बनाउने सम्भावना राख्दैनन् । सरुवा रोगहरू कमजोर भएका कारण हामी बचेका भने होइनौँ । यसका लागि हाम्रो प्रतिरोधिता जिम्मेवार छ।

मानव विकासक्रममा हामीले विरासतका रूपमा रोगप्रतिरोधी क्षमता हासिल गरेका छौँ । खोप अथवा सूक्ष्मजीवविरोधी औषधिको प्रयोगविनै पनि हामी विभिन्न रोगलाई परास्त गर्न सक्षम छौँ । शरीरको रोगप्रतिरोधी क्षमता हाम्रो कल्पनाभित्रका हरेक रोगलाई ग्रहण गर्ने खालको हुन्छ । रोगप्रतिरोधी क्षमता र सरुवा रोगबीचको यस्तो ग्रहरणशीलताले गर्दा भयावह रूपमा फैलिने रोगले पनि ठूलो जनसंख्यालाई रोगसँग अभ्यस्त हुन सक्ने गरी विकसित हुन जीवित राख्ने गर्छ।

रोगप्रतिरोधी क्षमतापछि सरुवा रोगबाट बचाउने अर्को तत्व हो– मानव चेतना । निश्चय पनि मानिस संसारको सर्वशक्तिमान प्राणी होइन । तर, एरिस्टोटलका अनुसार यो विवेकशील प्राणी हो । आफ्नो विवेकलाई मानिसले प्रकृतिबाट बच्न प्रयोग गर्छ । एन्टिबायोटिक, एन्टिभाइरल, भ्याक्सिन र सरसफाइ मानिसको यही विवेकका उपज हुन्, जसले सरुवा रोगलाई धरै हदसम्म निष्प्रभावी बनाइदिएको छ।

यसको मतलब सरुवा रोगबाट निश्चिन्त भएर बस्नु भन्ने चाहिँ होइन । मानिसले सरुवा रोगबाट अनेक खालका जोखिमको सामना गरिरहनुपरेको छ । उदाहरणका लागि जिका भाइरसलाई लिन सकिन्छ । यसलाई उचित ढंगले नियन्त्रण गरिएन भने यसले ठूलै संकट निम्त्याउन सक्छ । इबोलालाई नियन्त्रणमा ल्याउन ठोस र प्रभावकारी कदम चाल्नुअघि यसले पश्चिम अफ्रिकामा विनाशको ताण्डव मच्चाएको थियो भन्ने हेक्का हामीले राख्नुपर्छ । पर्याप्त र बलिया पूर्वाधार तथा स्रोतसाधन नभएका देशमा सरुवा रोग फैलियो भने यसले अप्ठेरो अवस्था सिर्जना गर्न सक्छ । तर, पनि हामीसँग नयाँ परिस्थितिसँग अनुकूलित हुने क्षमता भएसम्म संसारबाट मानव अस्तित्व मेटिएला कि भन्ने चिन्ता गर्नु व्यर्थ छ ।

(‘दी एटलान्टिक’बाट)