कञ्चनपुर/ आर्थिक अभावले कम्प्युटर शिक्षा पाउनबाट वञ्चित रहेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका क्षेत्रमा बसोबास गर्दै आएका जनजाति र दलित समुदायका विद्यार्थीलाई निःशुल्क आधारभूत कम्प्युटर तालिम आजदेखि सञ्चालन गरिएको छ ।
शुक्लाफाँटा नगरपालिकाको आर्थिक सहयोगमा दलित र आदिवासी जनजाति सञ्जालको पहलमा कम्प्युटर तालिम सञ्चालन गरिएको हो । तालिममा जनजाति र दलितका गरी ३० छात्रा र १० जना छात्रको सहभागिता रहेको छ ।
स्थानीय कम्प्युटर इन्स्टिच्युटसँग समन्वय गरी तालिम दिने व्यवस्था मिलाइएको दलित सञ्जालका संयोजक शिवी लुहारले बताए । आधुनिक युगमा कम्प्युटरको महत्व बढ्दै गएकाले अवसरबाट वञ्चित समुदायका बालबालिकाले तालिमपश्चात् रोजगारी पाउनमा सहजता हुने उनले बताए।
नगरपालिकाका कार्यकारी अधिकृत शेरबहादुर बुढाले तालिमपश्चात् सिकेका सीपलाई व्यवहारमा उतारे मात्रै नगरपालिकाको लगानी सदुपयोग हुने बताए । यसैगरी, आजैदेखि महिलाका लागि नगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षासमेत सञ्चालन गरेको छ । रासस