काठमाडौं/पत्रकार ऋषि धमला आफ्नी पत्नी एलिजा गौतमको विषयमा बारम्बार प्रशंसा गरिरहन्छन् । केही अन्तरवार्ताको क्रममा उनले एलिजालाई नायिका बनाउने घोषणा समेत गरेका थिए । धमलाको त्यो योजना साकार हुने लक्षण अब चाँडै देखिएको छ । एलिजा आफैंले एक फिल्म निर्माणको तयारी गरिरहेकी छिन् । जुन फिल्ममा आफैं नायिकाको रुपमा प्रस्तुत हुने बताएकी छिन् । फिल्मको नाम सार्वजनिक नगरे पनि फिल्ममा एलिजाका नायक हुनेछन् दीपक घिमिरे । फिल्मको निर्देशन सत्यराज चौलागाईँले गर्ने बताइएको उक्त फिल्मको संगीत भने गायक सुगम पोखरेलले गर्नेछन् । दशैं र तिहारको आसपासमा फिल्म छायांकन गरिने उक्त फिल्मको प्रि–प्रोडक्सनको काम भइरहेको एलिजाले बताएकी छिन् । रोचक पक्ष त के भने पत्रकार धमला आफैं पनि केही फिल्ममा अभिनय समेत गरिसकेका छन् । केही टेलि सिरियलमा समेत उनका छिटफुट अभिनय आइसकेका छन् । यद्यपी उनकी पत्नी एलिजाले भने आफैँ नायिका बन्ने आफ्नै फिल्ममा धमलालाई किन हिरो बनाइनन् भन्ने गस्सिप चल्न थालेको छ । त्यसो त एलिजाले छानेको नयाँ हिरो पनि नयाँ नै हुन् । चलचित्र क्षेत्रमा यस्तो पनि सुनिन थालेको छ की, एलिजाले आफ्नो पति धमलालाई छोडेर किन छानिन् नयाँ हिरो !