धरान/किरात राई जातिको मिथकमा आधारित भएर निर्माण गरिएको ‘रुङरिमा’ वृतचित्र बिहीबार धरानमा विशेष प्रदर्शनी गरिएको छ । किरात राई कलाकार संघ केन्द्रीय कार्यसमितिको आयोजनामा भएको प्रदर्शनीमा किरात राई जातिहरुको साँस्कृतिक महत्व रहेको चारवटा गीतहरुको भिडियो वृतचित्र देखाइएको थियो । किरात राई सास्कृति कलाकार संघ केन्द्रका उपाध्यक्ष तथा एउटा गीतको निर्देशनसमेत गरेका शालिक सतासकका अनुसार रुङ्रिमाको अर्थ ‘मानिसको सातो’ हो । जसलाई अन्नको सहको रुपमा पनि लिइने गरिन्छ । गीतहरुमा ‘वाडाङमी, रिसेहा, साकेला शिली’लगायत प्रदर्शनी गरिएको थियो । पूर्वको विभिन्न स्थानमा बसेका राईहरुको साँस्कृतिक महत्वलाई भिडियोमार्फत् देखाउने प्रयत्न गरिएको थियो । यस्ता सम्पदाहरुलाई राज्यले पनि स्वीकार्नु पर्ने संघका केन्द्रीय अध्यक्ष जनक राईले बताए । करिब १२ लाखको लगानीमा बनेको यो बृतचित्र पूर्वको धनकुटा, झापा सुनसरी, मोरङ र खोटाङमा छायाङकन गरिएको बताइएको छ । किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष तिलक राईको प्रमुख उपस्थितिमा कार्यक्रम भएको थियो ।