बलिउडका चर्चित अभिनेता नवाजुद्दिन सिद्दीकले आफ्नो जीवनी ‘एन अर्डिनरी लाईफ’ को सन्दर्भमा माफी मागेका छन् । पुस्तकमा उल्लेख भएकी महिलाले नवाजुद्दिनले झुट बोलेको भनेपछि उनले माफी मागेका हुन् । नवाजुद्दिनले ट्विट गर्दै भनेका छन्-‘उनको भावनामा आहत पुगेपछि माफी मागेको छु ।’ सहमति विना नै पुस्तकमा महिलाको नाम राखेकोमा माफी मागेको उनले बताएका छन् । पुस्तककी सह-लेखक रितुपणर चटर्जी हुन् । पुस्तकमा नवाजुद्दिनले पूर्व मिस इण्डिया निहारिका सिंह र अभिनेत्री सुनिता रजवारसँगको प्रेम सम्बन्धबारे उल्लेख गरेका छन् । प्रकाशक पेन्गिवन रेण्डम हाउसले पनि पुस्तक फिर्ता लिने उल्लेख गरेको छ । खास अभिनयबाट पहिचान बनाएका नवाजुद्दिनको पुस्तकमा समावेश केही प्रसंगले उनको आलोचना गर्नेहरुलाई बल पुगेको छ । गएको २३ अक्टोवरमा निहारिका सिंहले भनेकी थिइन्-‘नवाजुद्दिनले आफ्नो किताब बेच्नका लागि एक महिलाको अपमान गरे । सुनिताले फेशबुकमा लेखेकी छिन्-‘नवाजुद्दिन झुट कुरा गर्दैछन् । नवाजुद्दिनको सोच छोटो भएकै कारण आफुले छोडेको सुनिताको भनाई छ ।