भद्रपुर । सीप सिकेर स्वदेशमानै घरायसी उत्पादन गरिने वस्तुले बजार नपाउदा समस्या आएको उद्यमीहरुले गुनासो गरेका छन् । झापाका लघु उद्यमीले उत्पादन गरेका विभिन्न वस्तुहरु राखेर भद्रपुर नगरपालिका अन्तरर्गत रहेको उद्योग विकास शाखाले आइतवार आयोजना गरेको बजार विस्तार तथा अन्तरक्रिया कार्यक्रममा उद्यमीले यस्तो समस्या अघि सारेका हुन् । विभिन्न समुह बनाएर उत्पादन गरिने वस्तुको मूल्य नेपालको भन्दा भारतको सस्तो भएकोले बजार विस्तार गर्न समस्या भएको सयपत्री महिला सुपारी कृषक समुह मेचीनगरकी सपना ढकालले बताइन । हाम्रो समुहले सुपारी र सखुवाको पातवाट निर्माण गरिएका दुना टपरी भन्दा भारतले उत्पादन गरेका प्लाष्टिकका सोहि सामान तीनगुणा सस्तो हुने भएकोले बजारीकरण गर्न समस्या आएको उनले बताइन् । आफुले उत्पादन गरेका वस्तु बजारमा नलगेसम्म केहि नहुने मेडेप झापा संयोजक राम माझीले बताए । उद्यमी र व्यापारी विचको सम्बन्ध राखी बजार गर्नसकिने उनको भनाइ थियो । पछिल्लो समय सहकारीको मार्फत बजारीकरण गर्न उपयुक्त मानिएको उनले सुझाव दिएका थिए । घरेलु कार्यालय तथा अन्य संस्था मार्फत सीप सिकेर ढाका मखमली जुत्ता चप्पल,ढाका कपडा उत्पादन,विभिन्न प्रकारका अचार,झोला ,दुना टपरी लगायतका वस्तुहरु उत्पादन गर्दै आइरहेको जिल्ला लघु उद्यम समुह संघकी अध्यक्ष निर्मला भण्डारीले बताइन् । उत्पादन गरेका वस्तुहरुले बजार पाउनको लागि व्यापारी ,वित्तिय संस्था लगायतसँग उद्यमीहरुलाइ सम्पर्क गराइने उनले बताइन् । कार्यक्रममा परोपकार उद्यम महिला अचार समुह,पाथिभरा लघु उद्यम,सुनगाभा लघु उद्यम ढाका कपडा, नमुना अचार उद्यम महिला समुह,सान झोला,कविता झोला उद्योग लगायतले उत्पादन गरेका वस्तुहरु राखिएको थियो । उद्योग विकास अधिकृत गोपाल लिम्बुले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै उद्यमीलाइ मध्यनजर गरी कच्चा पदार्थमा भन्सार छुटको व्यवस्थाका लागि मन्त्रालयमा अनुरोध गरिने उनले बताए । साना साना उद्यमीले तयार पारेका वस्तुलाइ एकैठाउँमा राखेर बिक्री गर्नको लागि कोसेली घरको योजना अघि सारिएको उनले बताए । उद्योग अधिकृत चन्द्र प्रसाद मिश्रको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।