पानवारी/१ नं. प्रदेशको राजधानी धरानलाई बनाइनुपर्ने माग गर्दै आइतबारदेखि रिले अनसन सुरु गरेको धरानको स्वतन्त्र समितिले सोमबारबाट हस्ताक्षर संकलन अभियान सुरु गरेको छ ।
‘धरान प्रदेश नं. १ को राजधानी बनाउ अभियान स्वतन्त्र समिति’ले सुरु गरेको हस्ताक्षर अभियानमा एकै दिन एक हजार बढिको हस्ताक्षर संकलन भएको छ । दुईवटा खाता (कपि) मा नाम, ठेगाना र सम्पर्क नं. सहित संकलन भएको हस्ताक्षर राजधानी घोषणा भइसकेपछि प्रधानमन्त्रीलाई बुझाइने स्वतन्त्र समितिका संयोजक अइन्द्रविक्रम बेघाले बताए । उनले भने –‘यदि धरानलाई राजधानी घोषणा गरे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्लाई धन्यवाद सहित घोषणाको स्वागत गरी सेतो कपडा भित्र हस्ताक्षर बुझाइने र यदि धरानलाई राजधानी घोषणा नगरे विरोध स्वरुप कालो कपडाले बेरेर बुझाइने’ बताए ।
स्वतन्त्र समितिले यस अघि प्रधानमन्त्री कार्यालय तथा संघियता कार्यान्वयन तथा राज्य पुन संरचना समितिलाई ज्ञापन पत्र बुझाउनुका साथै सवारी साधनमा धरान राजधानी अंकित स्टिकर टाँस्ने काम गरेका थिए । प्रदेशका मुख्य स्थानमा धरानलाई राजधानी बनाउ लेखिएको व्यानरिङ गर्ने काम गरिसकेको छ ।