विराटनगर । ग्यास विक्रेताले बिक्री वापतको कमिसन बढाउनुपर्ने माग राख्दै विराटनगरका ग्यास विक्रेताले ग्याँस उद्योगमा धर्ना दिन सुरु गरेका छन् ।
ग्यासको विक्री बन्द गरी सोमबार मोरङको बुढीगंगा गाउँपालिका हात्तिमुढास्थित कोशी ग्यास उद्योग अगाडि धर्ना दिएका हुन् ।
चार दिनसम्म खाना पकाउने (एलपीजी) ग्यासको विक्री बन्द गरेर आन्दोलनमा उत्रिएका विक्रेताले दोस्रो चरणको आन्दोलन अन्तर्गत ग्यास उद्योगकै गेट अगाडि धर्ना सुरु गरेको बताएका छन् । एलपी ग्यास विक्रेता संघको अगुवाईमा भएको आन्दोलनमा आसपासका डिलरहरूले समेत समर्थन गरेका छन् । आन्दोनलमा समर्थन र सहयोग गरिरहेको ग्यास विक्रेता महांसघका केन्द्रीय सदस्य तेजराज श्रेष्ठले दैनिक साँझ ४ बजेसम्म धर्ना दिने र उद्योगबाट ग्यासको आपूर्ति हुन नदिने बताए । आफ्ना माग पूरा नहुञ्जेल आन्दोलन जारी रहने उनको भनाइ छ ।
विक्रेताले विगत १५ वर्षदेखि प्रतिसिलिन्डर ३५ रुपैयाँ मात्र कमिसनमा प्राप्त गर्दै आएका छन् । लामो समयदेखि ग्यासको कमिसन बढाउन सरकार, नेपाल आयल निगम र स्वयम् उद्योगीले पनि चासो नदिएको विक्रेताको भनाइ छ । महंगी बढेपनि ग्यास बिक्रेताको कमिसन एक पटक पनि नबढाएको उनीहरुले बताएका छन् ।
ग्यास विक्रेताले प्रतिसिलिन्डर ५ प्रतिशत कमिसन पाउनुपर्ने माग राखेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङ, नेपाल आयल निगम क्षेत्रीय डिपो विराटनगर र ग्यास उद्योगी समक्ष आफ्नो मागपत्र पेश गर्दै उनीहरुले कमिसन बढाउन पहल गर्न ज्ञापन पत्रसमेत बुझाएका छन् ।
संघका अनुसार मोरङमा झापा, मोरङ र सुनसरीका उद्योगका करिब ५ सय डिलर छन् । विराटनगर महानगरभित्र मात्र २ सय डिलर छन् । विराटनगरमा दैनिक २ हजार सिलिन्डर बिक्री हुन्छ ।
मापदण्ड पूरा नगर्ने उद्योगीलाई गुणस्तर तथा नापतौल विभागले कारवाही गर्ने प्रक्रिया थाल्न लागेकै बेला मोरङमा ग्यास विक्रेता आन्दोलनमा उत्रिएका हुन् । उनीहरुको आन्दोलनले उपभोक्ता मारमा परेका छन् भने बजारमा ग्यासको कालोबजारी बढेको छ ।