काठमाडौं । मंगलबारसम्म पानी पर्ने खासै लक्षण देखिएको थिएन । बुधबार बिहान अकस्मात परेको पानीले बटुवाहरुलाई बाटामै बिजोग बनायो । बिहान अकस्मात भएको वर्षाले काठमाडौंका बासिन्दाको दैनिकी सामान्य प्रभावित भयो ।
कामविशेषले बाहिर निस्किनेहरुका साथै विद्यालय जाने विद्यार्थी र दैनिक मजदुरी गरेर पेट पाल्नेहरुलाई आफ्नो गन्तव्यमा पुग्न सकस परेको छ । पानी पर्न थालेसँगै राजधानीमा चिसो बढेको छ ।
कतिपयले घरबाट निस्कँदा छाता र रेनकोट बोक्न भ्याए भने पानी पर्नुअघि नै घरबाट निस्किएकाहरु रुझ्न बाध्य भए । बिहान सडकमा कोही छाता ओढेर, चिया पिउँदै ज्यान तताउन व्यस्त देखिन्थे भने विद्यार्थीहरु भिजेर अलपत्र परिरहेका भेटिए ।
मौसमविदका अनुसार पश्चिमी वायुको प्रभावका कारण बुधबार दिनभर नै बदली हुनेछ । पश्चिमी जिल्लाहरुमा बढी पानी परे पनि काठमाडौं उपत्यकामा कम पानी पर्ने अनुमान मौसमविदको छ ।
पश्चिम नेपालबाट प्रवेश गरेको पानी पार्ने प्रणाली बुधबार साँझबाट क्रमशः पूर्वतिर सर्ने छ र त्यतापनि पानी पर्ने मौसमविदको दाबी छ ।
मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी जिल्ला र हिमाली भेगमा वर्षासँगै हिमपात पनि सुरु भएको छ ।