पानवारी । यामाहा कम्पनीको आधिकारीक विक्रेता गजुरमुखि ट्रेड एण्ड सर्भिस लिंकले विद्यार्थीहरुलाई सुरक्षित यात्राको बारेमा जानकारी दिन कक्षा चलाएको छ । बुधबार धरानको महेन्द्र बहुमुखि क्याम्पसका विद्यार्थीहरुलाई क्याम्पस परिसरमा पुगेर यामाहाले १ घण्टा सैदान्तीक प्रशिक्षण दिएको थियो भने २ घण्टा मोटरसाइकल तथा स्कुटर चलाउने प्रयोगात्मक प्रशिक्षण दिएको थियो । यामाहा कम्पनीका उत्पादन विशेषज्ञ तथा प्रशिक्षक समेत रहेका विपिन बोगटीले महेन्द्र क्याम्पसका विद्यार्थीलाई मोटरसाइकल तथा स्कुटरमा यात्रा गर्दा कसरी सुरक्षित हुने भन्नेबारे प्रशिक्षण दिएका थिए । गजुरमुखी ट्रेड एण्ड सर्भिस लिंक धरानका म्यानेजर महेश श्रेष्ठले दुर्घटना न्युनिकरणका लागि विभिन्न कलेजका विद्यार्थीहरुलाई प्रशिक्षण दिइने बताए । उनले भने –‘धेरैजसो दुर्घटना बाइक चलाउने सहि तरीका थाहा नभएर तथा विशेष गरी किशोरावस्था उमेर समुहका विद्यार्थीहरु बढी दुर्घटनामा पर्ने भएकोले पनि विद्यार्थीहरुलाई लक्षित गरी प्रशिक्षण चलाइएको हो ।’ प्रशिक्षणमा सहभागी विद्यार्थी सुजाता श्रेष्ठले प्रशिक्षणमा हेलमेट लगाउने तरिका, सेफ्टी राइडिङ, बाइकमा बस्ने तरिका तथा ब्रेक प्रयोग गर्ने तरीकाको बारेमा राम्ररी बुझ्न पाएको बताइन् । प्रशिक्षण पश्चात सहभागी सम्पूर्ण विद्यार्थीहरुलाई सहभागिताको प्रमाण पत्र तथा विभिन्न उपहार समेत प्रदान गरिएको थियो ।