झापा/ संरक्षणमा ध्यान नदिँदा झापाका जंगलमा रहेका वन्यजन्तु भारततर्फ जान थालेका छन्। भारतीय खुल्ला सीमाक्षेत्रसँग जोडिएका जंगलबाट वन्यजन्तु भारतमा भेटिन थालेका हुन्।
भद्रपुर नगरपालिका–३ साविक पृथ्वीनगर क्षेत्रबाट भारततर्फ गएको एउटा जंगली हरिण भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ।
भारतीय प्रहरीका अनुसार ठाकुरगञ्ज नजिक कुर्लिकोटस्थित तलब भिट्टा गाउँमा बुधवार बिहान एउटा जंगली हरिण फेला परेको थियो। नेपालबाट भारततर्फ गएको जंगली हरिण गाउँमा फेला परेपछि स्थानीयको भीड लागेको थियो।
फेला परेको हरिणलाई एसएसबी १९ बटालियन र भारतीय प्रहरीले नियन्त्रणमा लिएर किसनगञ्ज वन कार्यालयमा पठाएको थानाध्यक्ष कुमारले बताए।
सो क्षेत्रमा भारतको जंगल नरहेकोले सीमापारि झापाका वनबाटै हरिण त्यहाँ पुगेको बताइएको छ। झापाको जंगलबाट गएको हरिणको बारेमा भने झापाका वन कर्मचारी बेखबर छन्।