भद्रपुर । चोरीको मोटरसाइकल कारोबार गरेको आरोपमा नेपाल प्रहरीका असईलाइ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मोटरसाइकल गिरोहको खोजी गर्ने क्रममा इलाका प्रहरी कार्यालय काकँडभिट्टामा कार्यरत असइ कृष्ण बस्नेतलाइ पक्राउ गरेको हो । चोरीको मोटरसाइकल बेचबिखन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय झापाले उनलाई तत्काल अनुसंन्धानका लागि जिल्ला तानेपछि यस्को रहस्य बाहिर आएको छ । प्रहरीलेनै चोरीको मोटरसाइकल बेचेको खुलेपछि प्रहरी भित्र खैलाबैला मचिएको छ । पछिल्लो समयमा झापामा मोटरसाइकल चोरी गरी बेचबिखन गर्ने गिरोह सक्रिय रहेको अवस्थामा प्रहरीले गिरोहको खोजी कार्य जारी राखेको थियो ।

घटना विवरण अनुसार तीन दिनअघि प्रहरीले चेकजाँचको क्रममा मेचीनगरस्थित इट्टाभट्टाबाट मे ७ प ६९६० नम्बरको नक्कली नम्बर प्लेट लगाएको एउटा मोटरसाइकल फेला पारेको थियो । उक्त मोटरसाइकल मेचीनगर ७ का अन्दाजी २२ बर्षीय खिरमान राजवंशीले कुदाउँदै आएका थिए । बिना कागजातको मोटरसाइकलसहित चालक राजवंशीलाई थप अनुसंन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका चालक राजवंशीले उक्त मोटरसाइकल असई बस्नेतसंग लिएको बताएपछि प्रहरीको संलग्नता भएको खुलेको हो । प्रहरीले फेला पारेको मोटरसाइकल भारतबाट चोरी गरी नेपाल भित्राइएको प्रहरी अनुसंन्धानबाट खुलेको छ । चोरीको मोटरसाइकल खरिदबिक्रीमा असई बस्नेतको नाम मुछिएकोले उनलाई बुधवार जिल्ला तानेको प्रहरी कार्यालय झापाका एसपी बिष्णुकुमार केसीले बताए । असई बस्नेतसहित खरिद गर्ने व्यक्ति राजवंशीलाई समेत जिल्ला ल्याइएको एसपी केसीले जनाए । भारतीय नम्बर प्लेटको मोटरसाइकल फेला परेको उनले स्वीकारेका छन् । घटनामा असईको संलग्नता रहेको पाइएमा उनलाई विभागीय कारवाही गर्ने उनको भनाइ छ । प्रहरी कार्यालयले यसअघि इलाका प्रहरी कार्यालय काकँडभिट्टामा डिएसपी र इन्सपेक्टर बाहेक सबै प्रहरी कर्मचारीको सरुवा गरेको थियो । सरुवाको क्रममा असई बस्नेत त्यहाँबाट जान मानेका थिएनन । ६ महिना मात्रै जागिर अवधि रहेकोले जिल्लामा भनसुन गरेर उनी त्यही अडिक रहेको प्रहरी स्रोतले जनाएको छ ।