भद्रपुर ।भारतीय खुल्ला सीमाक्षेत्र संग जोडिएको झापाका जंगलबाट वन्यजन्तु भारतमा भेटिन थालेको पाइएको छ । भारतीय प्रहरीका अनुसार ठाकुरगँञ्ज नजिक कुर्लिकोटस्थित तलव भिट्टा गाउँमा बुधवार विहान एउटा जंगली हरिण फेला परेको थियो । भद्रपुर नगरपालिका ३ साविक पृथ्वीनगर क्षेत्रबाट भारततर्फ आएको एउटा जंगली हरिणलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको भारतीय प्रहरीले जनाएको छ । नेपालबाट भारततर्फ गएको जंगली हरिण गाउँमा फेला परेपछि स्थानीयको भीड लागेको थियो । नेपालबाट बाटो बिर्सिएर हरिण गाउँमा आएपछि स्थानीयले प्रहरीलाई जानकारी गराएको कुर्लिकोट थानाध्यक्ष राहुल कुमारले जानकारी दिए । फेला परेको हरिणलाई एसएसबी १९ बटालियन र भारतीय प्रहरीले नियन्त्रणमा लिएर किशनगञ्ज वन कार्यालयमा पठाइसकेको थानाध्यक्ष कुमारले बताए । सो क्षेत्रमा भारतको जंगल नरहेकोले सीमा पारी झापाका वनबाटै हरिण त्यहा पुगेको बताइएको छ । झापाको जंगलबाट गएको हरिणको बारेमा भने झापाका वन कर्मचारी बेखबर छन् ।