अन्दाजी १४ वर्षकी किशोरीलाई बिर्तामोडको होटेलबाट गत ८ माघमा प्रहरीले नियन्त्रणमा लियो । उनी तेस्रोपटक प्रहरी फन्दामा परेकी हुन् । दुईपटक पक्राउ पर्दा पनि उनले होटेलमा काम गर्न छाडिनन् ।

इलाका प्रहरी कार्यालय बिर्तामोडले पहिलोपटक उनलाई होटेलबाट ल्याएपछि परिवारको जिम्मा लगाइदियो । उनका परिवारका सदस्यले प्रहरी कार्यालयबाट त लिएर गए । तर, बीच बाटोमा नै छाडिदिए । ‘बाटोमा पुगेपछि अबदेखि तँ घर आउनुपर्दैन, पाइला नटेक् भन्नुभयो,’ प्रहरी नियन्त्रणमा रहेकी उनले भनिन्, ‘बुबा मर्दा पनि नआइज भन्नुभयो ।’ त्यसपछि उनी फेरि होटेल पुगिन् ।

यसरी पुगिन् होटेल उनकी आमा कहाँ छिन्, थाहा छैन । सानैमा छोडेर अर्कैसँग गइन् । घरमा बुबा, काका, काकी, २० वर्षकी दिदी, दुई भाइ र हजुरआमा छन् । उनी भने सानैदेखि मामाघर बसेर पढिन् । कक्षा ५ मा पढ्दै गर्दा दसैँको बिदामा बुबा र ठूलोबुबा उनलाई लिन गए । मामाघरबाट घर लगेपछि इलामको होटेलमा काम गर्न पठाउने तयारी गरियो ।

‘महिनाको पाँच हजार रुपैयाँ र दिनैपिच्छे मासुभात दिन्छ भनेर मलाई फकाए, मैले मानिनँ,’ उनी भन्छिन्, ‘इलाम नजाने भनेर घरबाट भागेँ, तर समातेर जबर्जस्ती पठाए ।’ इलाममा उनले सगुन होटेलमा झन्डै सात महिनासम्म भाँडा माझिन् । काम राम्रो नगरेको भन्दै होटेल सञ्चालकले पिट्ने र आँखामा खुर्सानी दलिदिने गरेको उनले बताइन् ।

उनले होटेलमा काम गरेको पैसा सीधै परिवारको हातमा आउँथ्यो । यातना सहन नसकेपछि उनी भागेर झापा झरिन् । घर पुगेर सबै घटना बेलिविस्तार लगाइन् । ‘घरकाले पनि पैसा पाइन्जेल मात्र माया गरेजस्तो गरे, हजुरआमाले त मलाई देख्नै सक्नुभएन अनि म घरमा बस्न सकिनँ,’ उनले भनिन् ।

बिर्तामोडको होटेलबाट माइती नेपालसम्म गाउँमा टेम्पो कुदाउने एकजना दाइले उनलाई बिर्तामोडको मेची होटेलमा काम लगाइदिए । प्रहरीले उनलाई दोस्रोपटक ४ मंसिरमा समात्यो । त्यस दिन उनीसहित नौजनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । ‘६ जनालाई बेलुकै छोडिदियो,’ उनले भनिन्, ‘मलाई, एकजना दिदी र दादालाई चाहिँ इलाकामै राख्यो, अर्को दिन मलाई माइती नेपाल पठाइदियो ।’

होटेलको काम गर्न बानी परेकी उनी माइती नेपालमा अडिन सकिनन् । पाँच दिनपछि भाग्न सफल भइन् । ‘भागेर हिँड्दै बस स्ट्यान्डसम्म आएँ र बस चढेर फेरि त्यही होटेल पुगेँ,’ उनले भनिन्, ‘मलाई माइती नेपालको खाना मन परेन, खाना फ्याँक्यो भने पनि गाली गर्थे ।’

फेरि परिवारकै जिम्मा किशोरीलाई नियन्त्रणमा लिएर दुईपटकसम्म माइती नेपाल पठाएको प्रहरीले तेस्रोपटक भने रक्षा नेपाल नामक संस्थाको जिम्मा लगाउने प्रयास गरेको छ । रक्षा नेपालकी अध्यक्ष मेनुका थापा नेतृत्वको टोलीले उनलाई राजधानी लगेर पढाउने र केही सिप सिकाउने निधो गर्‍यो । तर, उनी जान पटक्कै मानिनन् । अन्ततः प्रहरीले ती किशोरीलाई परिवारकै जिम्मा लगाएर घर पठाएको छ ।

तेस्रोपटक पक्राउ बिर्तामोड प्रहरीले उनलाई तेस्रोपटक भने सरस्वती पूजाका दिन होटेलबाट नियन्त्रणमा लिएको हो । मेची होटेलमा उनले काम सुरु गरेको लगभग दुई महिना भयो । होटेलबाट उनी मासिक दुई हजार रुपैयाँ पाउँथिन् । होटेलमा यौन व्यवसाय सञ्चालन गर्न एक युवती पनि राखिएको उनले सुनाइन् । ‘गुरुङ थरकी दिदी हुनुहुन्थ्यो, दिदीले चाहिँ महिनाको पाँच हजार कमाउनुहुन्थ्यो,’ उनले भनिन्, ‘ग्राहकसँग सुतिदिँदा पाँच सय एक्स्ट्रा पनि पाउनुहन्थ्यो ।’

आफूले बिहानदेखि बेलुकासम्म भाँडा माझ्ने र ग्राहकलाई कोठासम्म पुर्‍याउने गरेको उनले बताइन् । प्रहरीले भने होटेल सञ्चालकले उनलाई पनि यौन कर्ममा लगाएको दाबी गर्दै आएको छ । होटेलका म्यानेजरहरू किन्तु लिम्बू र गंगा राईलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी कृष्णप्रसाद कोइरालाले बताए । नयाँ पत्रिकाबाट