काठमाडौं । काठमाडौं उपत्यकासहित धेरै ठाउँमा बिहीबार पनि पानी पर्ने मौसमविदले अनुमान गरेका छन् । उपल्लो वायुमण्डलमा बनेको न्यूनचापिय प्रणालीको प्रभावले बिहीबार पनि धेरै ठाउँमा पानी पर्ने संभावना रहेको मौसमविद वरुण पौडेलले बताउनुभयो ।

उहाँका अनुसार यो प्रणाली अहिले पूर्वतिर सरिरहेको छ । बिहीबार विशेषगरी पहाडी भू–भागमा मेघ गर्जनसहित पानी पर्ने उहाँको अनुमान छ । तर, बुधबारको भन्दा कम हावाहुरी र चट्याङ पर्ने मौसमविद पौडेलले बताउनुभयो । उहाँका अनुसार अझै एक–दुई दिन बिहान मौसम खुले पनि दिउँसोपछि बदली भएर बेलुकीपख पानी पर्ने संभावना धेरै छ ।

यसैबीच काठमाडौंमा यो महिना औषत भन्दा धेरै पानी परिसकेको छ । सामान्यतया अप्रिल महिनामा काठमाडौंमा ६१ मिलिमिटर पानी पर्नुपर्नेमा पाँच दिनमा नै ६५ दशमलव ६ मिलिमिटर पानी परिसकेको मौसमविद वरुण पौडेलले जानकारी दिनुभयो । प्रिमनसुनी गतिविधि सक्रिय भएकाले अहिले धेरै ठाउँमा पानी परेको हो ।