विराटनगर/ विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले अत्याधुनिक न्युरो सर्जरी सेवा सुरु गरेपछि युरोपबाट समेत बिरामीहरु आउन थालेका छन्।

पछिल्लो पटक ब्रेन ट्युमरको शल्यक्रियाका लागि फिनल्यान्डका एक बिरामी काठमाण्डौ‌बाट ‘हेलिकोप्टर चार्टर’ गरेर नोबेल अस्पताल आएका छन्। फिनल्यान्डका बैंकर रहेका उनी ५ दिनको अस्पताल बसाइमा सफल शल्यक्रियापछि स्वदेश फर्किएका छन्। उनले विकसित देशका ठूला अस्पताल छोडेर आफू नेपाल आएको भन्दै नोबेलमा सोचे अनुसारको राम्रो उपचार पाएको बताए।

न्युरोतर्फ नोबेलले उपचार सेवा थालेपछि पछिल्लो समय विभिन्न देशबाट बिरामी आउने क्रम बढेको अस्पतालले जनाएको छ। नेपालका विभिन्न जिल्लासँगै भारत, माल्दिभ्स लगायत देशका बिरामी पनि उपचारका लागि आउने गरेको अस्पतालका सञ्चालक सुनिल शर्माले जानकारी दिए।

‘नोबेलमा सस्तो दरमै स्तरीय उपचार हुने भएकाले विदेशी बिरामीको पनि आकर्षण बढ्दै गएको छ’, शर्माले भने।

नोबेलले जर्मन, अमेरिका लगायत देशबाट अत्याधुनिक उपकरणसँगै विशेषज्ञ डाक्टरको व्यवस्थापन गरी जटिल शल्यक्रिया गर्दै आएको छ।

स्वास्थ्यखबरबाट