कैलाली/ कैलाली क्षेत्र नम्बर- १ का प्रतिनिधिसभामा निर्वाचित राष्ट्रिय जनता पार्टी नेपालका रेशमलाल चौधरीलाई शपथ खुवाउन दबाब दिन सुरु गरिएको छ। टीकापुर घटनाका राजबन्दी पीडित परिवार संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सांसद चौधरीलाई शपथ खुवाउन तत्काल व्यवस्था गर्न सरकारलाई दबाब दिएको हो।

त्यसैगरी टीकापुर घटनामा आरोपित तथा झूटा मुद्दा लगाइएका २६ जना राजबन्दीहरूलाई क्षतिपूर्तिसहित तत्काल रिहाई गर्न पनि माग गरिएको छ। टीकापुर घटनालाई एउटा विशुद्ध राजनीतिक घटनाको रूपमा सम्बोधन गर्न पनि सरकारसँग माग गरिएको संघकी धनकुमारी चौधरीले बताइन्।

संघले टीकापुर घटनाको शिलशिलामा पक्राउ गरी बाल सुधारगृह पोखरामा राखिएका नाबालकहरू श्रवण चौधरी र करण चौधरीलाई तत्काल धनगढी बाल सुधारगृहमा सार्न पनि सरकारसँग माग गरेको छ।

२०७२ भदौ ७ गते आठ जना सुरक्षाकर्मीको ज्यान जाने गरी भएको टीकापुर घटनामा मुख्य योजनाकार सांसद चौधरीलाई कारागारमा राखेर आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको छ। राष्ट्रिय जनता पार्टी नेपालले पनि आफ्ना सांसद चौधरीलाई तत्काल शपथ खुवाउने व्यवस्था गर्न सरकारलाई पटक–पटक दबाब दिँदै आएको छ।