काठमाडौं/ नेपाल र भारतबीच रेलमार्ग र पारवहनमा सहकार्य गर्ने सहमति भएको छ । भारतको तीन दिने भ्रमणका लागि नयाँ दिल्लीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको द्विपक्षीय भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलन मार्फत सहकार्यको सन्देश दिइएको हो ।
पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थप्नुपर्ने उल्लेख गरेको छ । उनले दुई देशीय सम्बन्ध २१ औं शताब्दीको यर्थाथताको आधारमा बताए । उनले नेपाल स्थायीत्व र विकासतर्फ अग्रसर भएको भन्दै भारतको साथ सहयोग रहने विश्वास व्यक्त गरे । उनले आफूहरु नमुना सम्बन्ध विकास गर्न अग्रसर रहेको समेत उल्लेख गरे ।
पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालले पाएको लोकतान्त्रिक सफलताको शुभकामना दिएको छ । तीन तहका निर्वाचन सम्पन्न हुनु नेपालका लागि ठूलो उपलब्धि भएको उल्लेख गर्दै यसका लागि नेपाली जनता र सरकारलाई अभिनन्दन गर्न चाहेको उनले बताए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अब समुद्रसम्मको पहुँच सहज हुने उल्लेख गरे । उनले द्विपक्षीय भेटवार्तामा नेपालका नदी हुँदै समुद्रसम्म सामान ओसारपसार गर्ने विषयमा सहमति भएको जानकारी दिए । मोदीले नेपाल अब ल्यान्ड लिंक मात्र होइन वाटर लिंक पनि हुने बताए ।
मोदीले काठमाडौंलाई भारतसँग जोड्ने नयाँ रेलमार्ग बनाउन दुबै देशले मिलेर काम अघि बढाउने सहमति भएको समेत जानकारी दिए । संयुक्त पत्रकार सम्मेलनको अन्त्यमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्ता समेत दिएको थियो ।