नयाँदिल्ली । दुईपक्षीय वार्तापछि हैदराबाद हाउसमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलन गरिरहँदा भारतका धेरै टेलिभिजनले प्रत्यक्ष प्रसारण गरिरहेका थिए ।
नेपालका प्रधानमन्त्रीले भारत भ्रमण गर्दा यहाँका टेलिभिजनले ठूलो महत्व दिएर प्रत्यक्ष प्रसारण नै गरेको अपवादको दृष्यले नेपाली दूतावासका अधिकारीहरु पनि अचम्म मान्दै थिए ।
त्यसो त भारतका राष्ट्रिय अखबारमा बिरलैमात्र नेपालका प्रधानमन्त्रीको भारत भ्रमण मुख्य समाचार बन्ने गर्छन् । यसपटक ओली दिल्ली नआउँदै दुई चर्चित भारतीय पत्रिका टाइम्स अफ इण्डिया र दि हिन्दूले लामो अन्तर्वार्ताबाट शुरु गरेको समाचार कभरेज निरन्तर चलिरहेको छ ।
आइतवारका भारतका अधिकांश राष्ट्रिय पत्रिकामा मोदी ओली वार्ता र नेपाल भारत कनेक्टिभिटी तथा आर्थिक विषयमा भएका सहमति प्रमुख समाचार बनेका छन् । यहाँका टेलिभिजनले नेपाल र भारतका प्रधानमन्त्रीको पत्रकार सम्मेलनदेखि संयुक्त वक्तव्यलाई समेत प्राथमिकताका साथ समाचार बनाएका छन् ।
टाइम्स अफ इण्डियाले प्रथम पृष्ठमा ओली र मोदीले हात मिलाएको फोटासहित चीनबाट नेपाललाई बाहिर ल्याउन भारतले कनेक्टिभिटीका लाथि थप अफर गरेको दावीसहित समाचार बनाएको छ । त्यस्तै हिन्दुस्तान टाइम्सले नेपाल र भारतले रेल र जलमार्गका लाथि नयाँ ढंगले सम्झौता गरेर अघि बढ्न चाहेको कुरालाई प्राथमिकता दिएको छ ।
नवभारत टाइम्स, दि हिन्दू लगायतका पत्रपत्रिकाले नेपाल राजनीतिक स्थिरतातर्फ अघि बढेपछि भारतले थप सहयोगको हात बढाएको टिप्पणी गरेका छन् । यहाँका टेलिभिजनहरुले ओली मोदी सम्झौतामा केन्दि्रत रहेर नेपाल विज्ञहरुसँग स्टुडियोमा निरन्तर बहस चलाइरहेका छन् ।
भारतका बुद्धिजीवी र पत्रकारहरुबीच नेपाल पछिल्लो समय चीनतिर ढल्किएको भ्रम जबर्जस्त रहेको छ । त्यसको प्रभाव यहाँका पत्रपत्रिका र टेलिभिजनका समाचार तथा बहसमा प्रष्ट रुपमा देखिन्छ । जुन भ्रम हटाउन प्रधानमन्त्री ओलीले शनिवार साँझ होटल आइटिसी मौर्यमा आयोजित नागरिक अभिनन्दन समारोहमा अलग्गै सम्बोधन गरे ।
सामान्यतः भारतमा बिभिन्न देशका बिशिष्ठ पाहुनाहरु दिनहुँ भ्रमणमा आउछन् । यहाँका मिडियाको चासो सबै भ्रमणमा हुँदैन । औपचारिक भ्रमण कार्यक्रममा यहाँका समाचार एजेन्सीमात्र जान्छन् । तर ओलीको भ्रमणमा यसपटक भारतीय पत्रकारहरुको चासो निकै देखियो । किनकी उनीहरुको नजरमा नेपाल भारत विरुद्ध चीनतिर छन् ।
आजतककी विदेश मामिला संवाददाता गीता मोहनले ओली दुई दिन दिल्ली बसुन्जेल कुनै पनि कार्यक्रम छुटाइनन् । उनले सुरक्षा घेरा तोडेर नेपालका प्रधानमन्त्रीसँग अन्तर्वार्तासमेत लिइन् । शुरुमै उनको प्रश्न थियो- नेपालले भारतलाई ‘चेक’ गर्न चीनसँग धेरै सम्झौता गर्दै छ हो ? तपाई प्रधानमन्त्री हुनासाथ पाकिस्तानी प्रधानमन्त्रीलाई नेपालमा स्वागत गर्नुको कारण भारतलाई चुनौति जवाफ दिन खोजेको हो ?
ओलीले दिल्लीमा दिल्लीमा यस्तै प्रश्नको सामना गरे । सायद उनले अन्य भेटमा समेत यस्तै प्रश्न सामना गर्नुपरेकाले होला त्यसको जवाफ दिँदै भने- भारतमा यस्ता भ्रम जबर्जस्त रहेछन्, तर ढुक्क हुनुस् नेपाल सबै छिमेकीसँग समान सम्बन्ध कायम गरेर अघि बढ्छ, हामी व्यवहारमा पुष्टि गर्छौं ।
भारतीय मिडियामा ओलीको भ्रमण र नेपाल-भारत सम्झौताहरु मुख्य समाचार बन्नुको कारण चाहिँ यहि हो कि- यहाँ नेपाल चीनतिर ढल्किएर भारतविरुद्ध लाग्ने खतरा जबर्जस्त रुपमा चर्चामा छ । अझ नेपालका प्रधानमन्त्री ओलीको व्यक्तित्व ‘भारत विरोधी’ र ‘चीनपरस्त’ भनेर प्रचार गरिएको छ । त्यसैले यसपटक ओली विमानस्थल उत्रिएदेखि नै यहाँका मिडियामा छाइरहे ।